अघिल्लो बैठकमा ओलीसँग चर्काचर्की भएपछि एमाले स्थायी कमिटी बैठकमा बामदेव गौतम गएनन्
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
1.9k
Shares
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा शुरु भएको छ । मंगलबार विहान ११ बजेबाट शुरु भएको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष र बामदेव गौतम भने उपस्थित छैनन् ।
पछिल्ला केही बैठकमा गौतम उपस्थित हुँदै आए पनि मंगलबारको बैठकमा सहभागी छैनन् भने नेपाल पक्ष विगतदेखि बैठकमा सहभागी भएको छैन ।
यस अघिको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई पारित गर्दै अबदेखि हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने व्यवस्था गरेपछि केपी ओली र गौतमबीच भनाभन भएको थियो ।
गौतमले ओलीको भूमिकालाई लिएर प्रश्न गरेका थिए। पार्टीको संरचनाका बारेमा बसेको बैठकमा एक पक्षलाई बाहिर राखेर बैठक गर्न नहुने तर्क गौतमको थियो।
ओलीले नेपाल समूहविना नै अघि बढ्न खोजेपछि स्थायी कमिटी बैठकमा उपस्थित भएका वामदेवले आपत्ति जनाएका थिए ।
स्थायी कमिटी बैठकमा एउटा पक्षलाई बाहिर राखेर जे छलफल भइरहेको छ त्यो गलत भएको छ, कि कारबाही गरेर हटाइदिनुस् होइन भने पार्टीभित्र आउने वातावरण बनाएर सँगै राखेर छलफल गर्नुस् भन्दै गौतमले आपत्ति जनाएका थिए ।
सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेसँगै अध्यक्ष ओलीले मंगलबारका लागि स्थायी कमिटी बैठक डाकेका हुन् ।ओलीले मध्यरातमा वक्तव्य जारी गर्दै सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै विरोध जनाएका थिए ।