arrow

कोरोना महामारी: जिल्ला प्रशासनको आलोपालो सेवा प्रणाली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
Makwanpur-hamrakura.jpg.jpeg
फाइल तस्विर।

हेटौंडा। जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई  आलोपालोको व्यवस्था लागू गरेको छ । 

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न  फरक फरक मितिअनुसार सेवा प्रवाह गरी समय निर्धारण गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । नागरिकताको प्रतिलिपि र राहदानीका लागि आगामी भदौ ४ गते शुक्रबारसम्म समयसीमा तोकिएको छ भने नयाँ नागरिकताका लागि भदौ ७ गते सोमबारदेखि भदौ १२ गते शुक्र बाह्रसम्म तोकिएको छ । शान्ति सुरक्षा, मुद्दा, विपद् व्यवस्थापनलगायतका अत्यावश्यक सेवा भने निरन्तर रहने जनाइएको छ ।

यसैबीच बढी भिडभाड हुने हेटौँडास्थित मालपोत कार्यालय र नापी कार्यालयका सेवा एक साताका लागि बन्द गरिएको प्रजिअ पाण्डेले बताए । मकवानपुरमा कोभिड सङ्क्रमण बढ्दै गएपछि निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको  बैठकको निर्णयअनुसार जारी निषेधाज्ञामा थप कडाइ गर्न थालिएको हो । मकवानपुरमा अब खाद्यान्न व्यवसाय बिहान १० बजेसम्म सञ्चालन हुनेछन् भने अन्य व्यवसाय १० बजेदेखि ५ बजेसम्म सञ्चालन गरिने प्रजिअ पाण्डेले बताए । यसअघि बजार खुल्ने समय खाद्यान्न १० बजेसम्म र अन्य १२ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको थियो ।

बैठकले बैंक तथा वित्तीय संस्था हरेक दिन १० बजेदेखि २ बजेसम्म खुला रहने निर्णय गरेको छ । त्यसैगरी मकवानपुरमा मास्क अभियानलाई सशक्त रूपमा लैजाने निर्णय भएको छ । मास्क नलगाउनेलाई जरिवानासमेत लिइने छ । जारी निषेधाज्ञा आगामी भदौ १० गतेसम्म थप गरिएको छ । समय सीमालाई बेवास्ता गरी व्यवसाय गरिएको पाइएमा कडाभन्दा कडा कारबाही गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ