arrow

३ अण्डाबाट सीले सिकेका तीन कुरा

logo
प्रेरणादायक कथा,
प्रकाशित २०७८ साउन २८ बिहिबार
xi-china-president.jpg

सी चिनफिङ जनवादी गणतन्त्र चीनको एक राजनीतिज्ञ तथा चीनका राष्ट्रपति हुन् । चिनियाँ राष्ट्रपति चिनफिङले कम्युनिस्ट पार्टीको नेताको रूपमा आफ्नै राजनीतिक विचारधारा सिर्जना गरेका छन्। माओत्सेतुङ् पछि चीनमा सी शक्तिशाली बनेका छन् । यहाँ सीको बाल्यकाल बारे उल्लेख गरिएको छ । जसलाई एक समारोहमा उनले बताएका थिए । सी गरिब परिवारबाट प्रतिनिधित्व गर्दै राष्ट्रपतिसम्म पुगेका हुन् । 

राष्ट्रपति चिनफिङले राखेको एक प्रसङ्ग, सीले भनेका छन् -
म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थे । फलतः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैँ अरूलाई दोष दिएँ र उनीहरूको निन्दा मात्र गरेँ।  जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो।

एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि एउटा अन्डा थियो, अर्को कचौरामाथि अन्डा थिएन । बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो। त्यस समय आकलझुकल मात्र अण्डा खाने अवसर जुर्थ्यो-चाडपर्वमा वा नयाँ वर्षमा । मैले सहजै अण्डा भएको कचौरा छानेँ । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिँदै खुसी हुँदै अण्डा खाएँ । मेरा बाबुले चाउचाउ खाँदै गए; उनको कचौराको पिँधमा चाउचाउमुनि दुइटा अण्डा देखियो! मलाई ज्यादै पश्चात्ताप भयो! आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफै देखी रिस उठ्यो। 

मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभयो-"प्रिय छोरो, तिमीले बुझ्नु पर्छ-तिम्रा आँखाले देखेका कुरा सधैँ सत्य नहुन पनि सक्छन् । यदि तिमी अरूबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमी गुमाउने छौ।"

अर्को दिन मेरा बाबुले फेरि दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमाथि राख्नुभयो-पहिलेजस्तै एउटा कचौरा माथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन । 

बाबुले मलाई भन्नुभयो, "प्रिय पुत्र, कुनचाहिँ कचौरा लिन्छौ, रोज?" 
यस पटक म चनाखो भएँ। मैले कचौरामाथि अण्डा नभएको चाहिँ कचौरा छानेँ र फुर्कँदै चाउचाउ खोतलेर हेरेँ । कचौराको पिँधमा एउटा पनि अण्डा थिएन । मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभयो, "प्रिय छोरा, तिमीले सधैँ अनुभवमाथि भर पर्नु हुँदैन किनभने कहिलेकहीँ जीवनले धोखा दिन या छल गर्न सक्छ । तर तिमी रिसाउनु वा दुःखी हुन हुँदैन । यसलाई तिमीले एउटा शिक्षाको रूपमा ग्रहण गर्नु पर्छ । यो पाठ तिमी पाठ्यपुस्तकबाट सिक्न सक्दैनौ ।"

मेरा बाबुले तेस्रो दिन फेरि दुई कचौरा चाउचाउ पकाउनुभयो-एउटा कचौराको माथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन । बाबुले कचौरा टेबुलमाथि राख्दै मलाई भन्नुभयो-"प्रिय पुत्र, चाउमिनको एउटा कचौरा रोज, कुनचाहिँ कचौरा लिन्छौ?"

यस पटक मैले बाबुलाई भनेँ-"बाबा, कचौरा तपाईँ रोज्नुस् । तपाईँ घर मुली हुनुहुन्छ । परिवारमा सबैभन्दा बढी योगदान तपाईँकै छ ।"
मेरा बाबुले नाइँ-नास्ति नगरी एउटा अन्डा भएको कचौरा छान्नुभयो । मैले आफ्नो भाग चाउचाउ खाँदै गर्दा मनमनै सोचेँ-'पक्का पनि यस पटक मैले अण्डा गुमाएँ !' तर मैले चाउचाउ खाँदै जाँदा कचौराको पिँधमा चाउचाउले छोपिएको दुइटा अण्डा देखेर म आश्चर्यमा परेँ !

मेरा बाबुले प्रेमपूर्वक मलाई हेरेर मुस्कुराउँदै भन्नुभयो, "प्रिय पुत्र, तिमीले बुझ्नु पर्छ । जब तिमी अरूको भलाइको बारेमा सोच्छौ स्वाभाविक रूपमा तिम्रो पनि भलो हुनेछ ।

(लेख सकारात्मक सोचका लागि प्रसारित गरिएको हो । )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ