arrow

प्रदेश एक : लकडाउनमा बढे लागु औषध प्रयोगकर्ता 

logo
विवेक मिश्र,
प्रकाशित २०७८ साउन २५ सोमबार
drug.JPG

मोरङ । पछिल्लो समय लागु औषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दो क्रममा रहेको देखाएको छ । नेपालमा हाल प्रयोगकर्ताको सङ्ख्या एक लाख ३० हजार ४२४ पुगेको छ । नेपालमा लागू औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले वार्षिक औसत वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको देखाएको छ ।

जसमध्ये प्रदेश एक पनि प्रहरीको तथ्याङ्क अनुसार लागु औषध प्रयोगकर्ताको उच्च जोखिममा देखिन्छ । मुख्यतः प्रयोगकर्ता युवा, किशोर किशोरीको सङ्ख्या बढ्दै जानु चिन्ताको विषयमा बन्दै लागु औषध सामाजिक र आर्थिक विकासका लागि ठुलो चुनौतीको रूपमा खडा भएको छ ।

प्रदेश एकका अन्य जिल्ला भन्दा भारतसँग खुल्ला सिमाना जोडिएका झापा, मोरङ र सुनसरी लागु औषध प्रयोगकर्ताको उच्च जोखिममा देखिन्छ । प्रदेश एकमा लागु औषध अपराध दर्ता सङ्ख्या गत आर्थिक वर्षमा ५३० रहेकोमा यो वर्ष बढेर ६८० पुगेको छ । 

गत आर्थिक वर्ष ०७६-०७७ मा ३११.४६७ किलोग्राम बरामद गरेको प्रदेश एक प्रहरीले ०७७/०७८ मा १७८९.१११ किलोग्राम बरामद गरेको छ । त्यसै गरी ०७६/०७७ मा ०.६१ ग्राम बरामद गरिएको चरेस ०७७/७८ मा ह्वात्तै बढेर १३.८६० ग्राम बरामद गर्न सफल भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार लकडाउनका कारण लामो समय विद्यालय जान नपाएका कतिपय विद्यार्थीहरू लागु औषध प्रयोगकर्ताको सिकार बन्न पुगेका छन् । सामाजिक समस्याको रूपमा रहेको लागु औषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाए पनि प्रयोगकर्ताको सङ्ख्यामा भने कमी आउन सकेको छैन बरु दिन प्रतिदिन बढिरहेको छ ।

भारतीय बजारबाट आयातित लागु औषध तराईका सहर हुँदै पहाडी जिल्लामा समेत पुग्ने गरेको छ । लागु औषध दुर्व्यसनीले जटिल रोगको समस्याका साथै अकालमै मृत्यु हुने, परिवारको बोझ बन्ने, आर्थिक दुरावस्थाले पारिवारिक विचलन हुने अवस्था हुँदाहुँदै पनि युवा वर्ग दुर्व्यसनीमा फस्ने गरेको बेलबारी स्थित रहेको डाँगिहाट यूथ क्लबका अध्यक्ष विक्रम बान्तवा बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ