महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुने
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
1k
Shares
महेन्द्रनगर। महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष २०७८-७९ मा बालबालिकालाई लक्षित गरी रु ९० लाखको लागतमा ५० शय्याको अस्पताल भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौताको कार्य भइसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।
उनका अनुसार बालबालिकालाई लक्षित गरी बनाइन लागेको अस्पताल असोज महिनाभित्रै निर्माणका सबै कार्य पूरा हुने समय सीमा निर्धारण गरिएको छ । कोभिडको सङ्क्रमणमा परेका बालबालिकाको निर्माण हुने अस्पतालमा उपचार हुनेछ । उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी, औषधि, आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था हुने बताइएको छ ।
बाल चिकित्सा अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले विशेष प्राथमिकतामा राखेको छ । बाल चिकित्सा कोभिड अस्पतालको आइतबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले शिलान्यास गरेका हुन् । “पहिलो चरणको कोरोनाको सङ्क्रमण हुँदा पूर्व सतर्कता अपनाइँदा प्रदेशका ५८ नागरिकको मात्रै ज्यान गएको थियो”, उनले भने, “दोस्रो चरणमा कम तयारी हुँदा ५ सय २० ले ज्यान गुमाए । त्यसमा अधिकांश युवा रहेका थिए । तेस्रो चरणमा मानवीय क्षति रोक्नका लागि पूर्वतयारीमा लागेका छौँ ।” त्रिनगर र गड्डाचौकी सीमा नाकामा भारतबाट फर्कनेको चापलाई मध्यनजर गर्दै एक हजार अट्ने होल्डिङ सेन्टर निर्माणको कार्य अगाडि बढिसकेको उनले बताए ।
महाकाली अस्पतालमा यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ५० शय्याको आइसोलेसन भवन निर्माण गरेको थियो । अस्पतालमा बिरामीको चापको आधारमा १०० शय्या थप गरिएको छ ।