arrow

३३ वर्ष सेवा गरेर बिदा भए सचिव पुडासैनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
pudasaini.JPG

काठमाडौँ । अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीलाई बिदाइ गरिएको छ । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवा निवृत्त हुन लागेका पुडासैनीलाई शुक्रवार मन्त्रालयमा समारोह आयोजना गरी बिदाइ गरिएको हो ।  

वि.सं. २०४५ साल असार २० गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत  पुडासैनीसँग विश्व बैङ्क र एसियाली विकास बैङ्कमा बसेर काम गरेको अनुभव छ । निजामती सेवामा ३३ वर्ष विताएका पुडासैनी ५८ वर्षे उमेर हदका कारण साउन २४ गते आइतवरदेखि सेवा निवृत्त हुँदै छन् ।
 
बिदाइ मन्तव्यको क्रममा राजश्व सचिव पुडासैनीले नवनियुक्त अर्थमन्त्रीले अघि सारेको ‘उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने’ भिजन महत्त्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजश्व सङ्कलनमा समेत सुधार आउने तर्क गरे । राजनीतिक र प्रशासनिक क्षेत्र एक अर्काको परिपूरक रहेको भन्दै उनले प्रशासनिक क्षेत्रको जनशक्तिले आफूलाई लोकसेवाबाट आएको भनेर घमन्ड प्रस्तुत गर्न नहुनेमा जोड दिए ।

 सचिव पुडासैनीले भने “हामी राज्यबाट केही लिन आएको हैन, राज्यलाई केही दिन आएको हो । जनता र राष्ट्रको सेवा गर्नु हाम्रो धर्म हो । घमन्ड गर्नु हुँदैन ।” तीन दशकभन्दा लामो समय निजामती सेवामा बिताउँदाको अनुभव सुनाउँदै उनले नेपालमा राजनैतिक क्षेत्रले व्यूरोक्रेट्सलाई अझै पूर्ण रूपमा विश्वास गरि नसकेको बताए । 

समारोहमा अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट सङ्कलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । “राजश्व भनेको जनताको पसिनाको थोपा थोपाको सङ्ग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ ।” उनले भने । 

मन्त्री शर्माले राज्यका हरेक नीतिहरू निरन्तर सुधारको प्रक्रियामा रहेको भए तापनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताए । “निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ । निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ । यथास्थितिवादी नीतिले परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न सक्दैन ।” मन्त्री शर्माले थपे “ मैले गुणात्मक सुधारको लागि काम गर्ने हो । यो काम हचुवाको भरमा गर्ने होइन । गहन अध्ययन विश्लेषण गरेरै गर्ने हो तर गर्ने हो ।” 

अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवा निवृत्त हुन लागेका राजश्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताए । 

बिदाइ समारोहमा अर्थ सचिव मधुकुमार मरासिनीले सेवा निवृत्त हुन लागेका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै विना कुनै दाग बिदाइ हुनु पनि सेवाकलाको ठुलो सफलता भएको टिप्पणी गरे । उनले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममुखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति अर्थ मन्त्रालयका अध्यक्ष वामदेव पन्थीलगायत विभिन्न विभाग तथा समितिको तर्फबाट सचिव पुडासैनीलाई मायाको चिनो र दोसल्लासहित बिदाइ गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ