मन्त्रिपरिषद् विस्तारमा अब ढिलाइ गर्नुहुँदैन : डा. रामशरण महत
‘भदौमा महाधिवेशन हुने सम्भावना छैन, के गर्ने भन्नेबारे छलफल भइरहेको छ’
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
1.4k
Shares
काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले यथाशक्य चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । उनले भने,‘सरकारलाई पूर्णता दिनको लागि ढिलाइ भयो, सरकार गठन भएको यत्तिका दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, यो गलत कुरा हो । सत्तापक्षीय गठबन्धनमा आबद्ध दलहरूसँगको सहमतिमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ । अब ढिलाइ गर्नुहुँदैन ।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले यसअघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरीहरू सच्याउनुपर्ने पनि धारणा राखेका छन् । उनले सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्ने पनि बताएका छन् । यसअघि अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन गर्नको लागि पनि नयाँ पूर्ण बजेट ल्याइनुपर्ने महतको भनाई छ । उनले अब ल्याउने बजेट कृत्रिम रूपमा आकार मात्रै बढाउन नहुने सुझाव दिए । यसअघि अध्यादेशमार्फत आएको बजेटले राष्ट्रको आन्तरिक र बाह्य दुवै ऋण बढाएको उनको गुनासो छ । उनले भने,‘अहिले एक जनाको भागमा ५२-५३ हजार ऋण पुगेको छ ।’ अब बजेट ल्याइँदा प्रशासकीय खर्च पनि घटाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको जोड थियो ।
उनले वर्तमान सरकारले पूर्ण बजेट ल्याउनको लागि तयारी गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले भूमि आयोग विघटन गरेकोमा खुसी व्यक्त गरे । र, सरकारको यो कदमलाई सकारात्मक रूपमा लिनुपर्ने पनि उनको भनाई छ ।
उनले भने,‘भूमिहीनहरूलाई भूमि दिने कुरामा सरकारले उचित र वैज्ञानिक ढङ्गले काम गर्छ । तर, यसअघि आयोग बनाएर कार्यकर्ताको भर्ती केन्द्र बनाइएको थियो । यसलाई विघटन गर्नु उचित हो ।’ उनले अब सरकारले उचित व्यक्तिलाई उचित जिम्मेवारी दिने कुरामा जोड दिनुपर्ने पनि सुझाव दिए । त्यस्तै, उनले मुलुकको सुशासन कायम गर्ने कुरामा पनि सरकारले आवश्यक ध्यान दिने विश्वास दिलाए ।
पूर्व मन्त्री महतले राजनीतिक नियुक्ति गर्दा पनि योग्य र सक्षम व्यक्तिलाई उचित जिम्मेवारी दिनुपर्ने बताए । उनले अर्थतन्त्रलाई पुनर्जीवन दिने कुरामा विशेष ध्यान दिनुपर्ने पनि धारणा अघि सारे ।
डा. महतले भदौमै महाधिवेशन हुने सम्भावना लगभग समाप्त भएको पनि टिप्पणी गरेका छन् । अहिलेसम्म क्रियाशील सदस्यताको विवाद टुङ्गो नलागेकोले तोकिएकै समयमा महाधिवेशन हुने सम्भावना नरहेको उनको भनाई छ । उनले भने,‘साउन १२ गते वडा तहको अधिवेशन गर्नुपर्ने भनिएको थियो, त्यो पनि सकिएन । मुख्य कुरा क्रियाशील सदस्यता फाइनल हुनुपर्यो नि, अहिलेसम्म भएको छैन ।’
तोकिएकै मितिमा महाधिवेशन हुन नसक्ने भएपछि अब के गर्ने ? भन्नेबारे पनि छलफल सुरु भएको महतको भनाई छ । उने भने,‘एउटा विचार के आएको छ भने अब भदौ १९ को समयमा महाधिवेशन गर्न नसकिने भएपछि त्यसपछि वर्तमान कार्यसमितिलाई नै अन्तरिम कार्यसमिति बनाएर जाने कुरा पनि छ, अर्को विचार सहमतिको आधारमा नयाँ समिति बनाउने कुरा पनि छ । अर्को कुरा असोज-कार्तिकसम्म महाधिवेशन गरौँ भन्ने पनि छ । अर्को अहिलेकै मितिमा पनि महाधिवेशन गर्न सकिन्छ भन्ने कुरा आएको छ ।’
उनले काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले आन्तरिक जीवन सधैँ सुदृढ गर्नुपर्ने बताए । उनले भने,‘यो एउटा ऐतिहासिक पार्टी हो, हाम्रो आईडियोलोजी ठिक छ । हामी बिचमा एकता हुनुपर्छ । पार्टीभित्र सङ्घर्ष गर्नु उचित होइन । एकता कायम गरेर नै अघि बढ्नुपर्छ ।’