arrow

नेपालमा बढ्दै कोकिनको खपत : विदेशबाट आयात, ठुला होटेल र रेस्टुरेन्टमा प्रयोग

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ साउन १९ मंगलबार
coacine-drugs-nepal.jpg

काठमाडौं । नेपालमा लागु औषध ‘कोकिन’को प्रयोग बढ्न थालेको छ । बोलिभिया, पेरु जस्ता मुलुकमा उत्पादन हुने कोकिनको प्रयोग पछिल्लो समय नेपालमासमेत बढ्न थालेको हो । ब्राजिलको साउपालो एयरपोर्ट हुँदै भारत र युएइ मार्फत नेपाल ल्याइने गरिएको लागू औषध कोकिन अत्यन्तै महँगो मध्येको लागू औषध पदार्थमा पर्दछ । 

यो पदार्थ विगतमा भने नेपाल ट्रान्जिट प्वाइन्ट हुँदै भारत निर्यात हुने गरेको नेपाल प्रहरीको आँकडाले देखाउँछ । तर अहिले भने यो पदार्थको बरामद घटेको तर नेपाली बजारमा नै खपत भने बढेको छ । 

नेपाल प्रहरीको एक तथ्याङ्कले आर्थिक वर्ष २०७७/०७८ मा कोकिनको बरामद ९१ दशमलब ६ प्रतिशतले घटेको देखाएको छ । 

कहाँ हुन्छ प्रयोग ?

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोका अनुसार पछिल्लो समय नेपालका ठुला केही होटेल तथा ती होटेलमा हुने पार्टीहरूमा कोकिनको प्रयोग हुन थालेको पाइएको छ । यस्तै केही रेष्टुरेण्टहरुमासमेत कोकिनको प्रयोग हुने गरेको सूचना प्रहरीले पाएको छ भने केही उच्च स्तरका परिवारका भनिएका व्यक्तिहरुलेसमेत यसको प्रयोग गर्न थालेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

‘पहिले नेपालमा कोकिनको खपत थिएन, पछिल्ला दिनमा नेपाली बजारमा नै कोकिनको खपत भइरहेको सूचना छ, भयावह अवस्था त होइन तर प्रयोग बढेको देखिएको छ,’ ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले भने । 

विदेशीले नै ल्याउँछन्

यो पदार्थको ओसारपसारमा मुख्य रूपमा प्रहरीले विदेशी नागरिकको संलग्नता रहने गरेको बताउँदै आउने गरेको छ । तर पछिल्ला समय नेपाली नागरिकहरूसमेत यसको प्रयोग र ओसारपसारमा संलग्न हुने गरेको पाइएको छ । नेपालीहरू भने पैसाको लोभमा यसको ओसार-पसारमा लाग्ने गरेका छन् । 

विदेशीहरूले भने यो पदार्थ नेपालमा नभएर भारत निर्यात गर्नकै लागि ल्याउने गरेका छन् । उनीहरूले नेपाललाई ट्रान्जिट प्वाइन्ट मात्रै बनाउने गरेका छन् । नेपाल हुँदै यो पदार्थ भारतीय बजारमा जाने गरेको विगत देखिन्छ । 

एकै दिन नौ जना पक्राउ

प्रहरीले सोमबार मात्रै एक किलो १२ ग्राम लागू औषध कोकिनसहित नौ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-३ रानीवारीका ४३ वर्षीय अञ्जु थापामगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीया रायल थापामगर, गोरखा बारपाक सुलिकोट गाउँपालिका-५ लाकुरीबोट घर भएका ४५ वर्षीय सुरोज गुरुङ, भारत दक्षिण गोवाका ३९ वर्षीय सन्दीप पटेल, धादिङ नीलकण्ठ नगरपालिका-११ का २७ वर्षीय मिराज ढकाल, काठमाडौँ महानगरपालिका-१३ का ४९ वर्षीय सुदन शाक्य र धादिङ नीलकण्ठ नगरपालिका-११ का २७ वर्षीय मछिन्द्र धमला रहेका छन् । 

लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले लागू औषध कोकिनसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पहिले नै पक्राउ परेकाबाट सूचना

प्रहरीले सोही समूहमा संलग्न अन्य चार जनालाई भने गत साउन ७ गते ५०० ग्राम कोकिनसहित पक्राउ गरेको थियो । 

ब्युरोले उक्त सूचनाका आधारमा थप नौ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । 

प्रहरीले गोरखाका सुरज गुरुङलाई चितवनबाट पक्राउ गरे पनि उनले काठमाडौँको तारकेश्वरमा कोकिन लुकाएर राखेको अनुसन्धानमा खुल्न आएको थियो । उक्त अनुसन्धानका आधारमा प्रहरीले सुरजसँग ६८३ ग्राम कोकिन र नगद रु तीन हजार ५७५ बरामद गरेको थियो । 

यस्तै, ३२९ ग्राम कोकिन र नगद रु सात लाख ५० हजारसहित अञ्जुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

२०१९ डिसेम्बर २१ को त्यो दिन

२०१९ डिसेम्बर २१ को दिन ‘थ्रि ब्रदर्श’ नाम गरेको एक होटेलमा विदेशीहरू आएर बसेका हुन्छन् । उनीहरू कोकिनको कारोबारमा संलग्न हुन्छन् । त्यसै होटेलमा एक महिला काम गर्छिन् । 

ती काम गर्ने महिलालाई कोठा सफा गर्ने समयमा ती विदेशीले लगाएको ज्याकेट मन पर्छ र घर लिएर जान्छिन् । घर पुर्याएपछि ती महिलालाई ज्याकेट गह्रुँगो लाग्छ खोतल्दा र केही वस्तु भेटिन्छ । त्यो वस्तु के हो भन्ने उनले ठम्याउन नसकेपछि आफन्तको सहारा लिएर उनीहरू सो वस्तु पत्ता लगाउन लाग्छन् । सो वस्तु कोकिन भएको पुष्टि हुन्छ   र ठुलो रकम हात पर्ने लोभमा उनीहरू बजारको खोजीमा पुग्छन् । 

सो सूचना प्रहरीले पाएपछि उनीहरू प्रहरीको निगरानीमा पर्छन् । सोही क्रममा पहिले चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हुन्छ । त्यसपछि भने प्रहरीले उनीहरूबाटै सूचना लिएर अन्यको खोजी सुरु गर्दा थप नौ जना पक्राउ पर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ