काठमाडौँ। नवनियुक्त अर्थ सचिव मधु कुमार मरासिनीले सोमवार पद बहाली गरेका छन्। महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पद बहालीसँगै निवर्तमान अर्थ सचिव शिशिर कुमार ढुङ्गानाको बिदाइ गरिएको छ। आगामी छ महिनापछि सेवा निवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ। मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको बिदाइ र नवनियुक्त सचिवको स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरे बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिए। अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न उनले आग्रह गरे।
आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरूले समेत सोही स्प्रिटलाई मनन गर्न निर्देशन दिए।
“मन्त्रालयमा टेबुल टेबुलको शासन चलाएर हुँदैन। अत्यावश्यकीय महत्त्वपूर्ण विषयहरूमा एउटै टेबुलमा बसेर छिटो छिटो काम गर्नुपर्छ।” मन्त्री शर्माले भने “मन्त्रीले जान वा अञ्जनमा देशलाई घाटा हुने कुनै कुरा गर्यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु।” कार्यक्रममा नवनियुक्त अर्थ सचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवर्द्धनमार्फत रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहनत पूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यवसायले ७० प्रतिशत योगदान गरेको प्रसङ्ग उल्लेख गर्दै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिबिको अन्त्य गर्न सहयोग पुर्याउने धारणा व्यक्त गरे।
कार्यक्रममा निवर्तमान अर्थ सचिव ढुङ्गानाले कोभिडको कारण अर्थतन्त्रमा परेको नकारात्मक असरहरू बिस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रस्ट पारे। कोभिड महामारीकै बीच राजश्व सङ्कलनको लक्ष ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्न सक्ने गरी वैदेशिक मुद्राको संचिति रहेको, विप्रेषण वृद्धि हुनुको साथै औपचारिक च्यानलमा आएको, निर्यात वृद्धि भएको लगायतका सकारात्मक परिसूचकहरूसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताए।
अर्थ मन्त्रालय र मातहतका निकायहरूमा १३ वर्ष ९ महिना काम गरेका सचिव ढुङ्गानाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीहरूको बारेमा चर्चा गर्दै अन्तर सरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानहरूको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतसँग रहेका ठुला कोषहरूको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिवेन्चर मार्केटको प्रवर्द्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च वृद्धिलगायतमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिए।
स्वागत तथा बिदाइ कार्यक्रमको सहजीकरण गर्दै राजश्व सचिव रामशरण पुडासैनीले अनुभवी र योग्य सचिव शिशिर कुमार ढुङ्गानाको बिदाइले अर्थ मन्त्रालयमा सृजना हुनसक्ने अन्तरलाई २५ वर्ष अर्थ मन्त्रालय र सम्बद्ध निकायमा काम गरेको अनुभव सँगालेका योग्य सचिव मधुकुमार मरासिनीको आगमनले पूर्ति गर्ने विश्वास व्यक्त गरे। राजश्व सचिव पुडासैनी साउन २४ गते शनिवारदेखि सेवा निवृत्त हुँदै छन्।