arrow

संखुवासभा कांग्रेसमा नयाँ समिकरण, नेतृत्वका आकांक्षीहरु जोडघटाउ गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
nepali-congress-sankhasava.jpg

संखुवासभा। नेपाली कांग्रेसको महाधिवेशनको नजिकिदै छ । साउन १२ गते वडाबाट प्रतिनिधि चयन गरेर महाधिवेशनको प्रारम्भ हुँदैछ । १४औं महाधिवेशनको संघारमा संखुवासभा जिल्लामा पनि अधिवेशनको तयारी जोडतोडले भइरहेको छ । केन्द्रीय नेता नभए पनि जिल्लाको नेतृत्वमा स्थापित हुन केही समुहहरु तयारीमा जुटेको देखिन्छ ।

पूर्व राज्यमन्त्री तारामान गुरुङ परम्परागत रुपमा संखुवासभा जिल्ला कांग्रेसमा आफ्नो प्रभाव राखिरहन चाहन्छन्। उनी चार कार्यकाल जिल्ला सभापति भएका हुन् भने अहिलेका सभापति दिपनकुमार श्रेष्ठ उनकै समुहबाट १३औं अधिवेशनबाट विजयी भएका हुन् ।

अर्कातिर केन्द्रमा निकै प्रभाव राख्ने पूर्वराज्यमन्त्री दिपक खड्का गुरुङको प्रभाव रोकेर आफ्नो प्रभुत्व जमाउने ध्याउन्नमा छन् । यी दुई पूर्व सांसद खड्का र गुरुङवीच सुरुदेखि नै खटपट रहेको थियो । अहिले आएर पानी बाराबारको अवस्था रहेको कार्यकर्ता बताउछन् । अहिले यो समुह रणनीति बनाएर निकै अघि बढी सकेका छन् ।

तारामान गुरुङ सिटौला पक्षका भए पनि देउवा पक्षीय पूर्व जिल्ला सचिव मुक्तिसिंह राईलाइ आगामी अधिवेशनमा सभापति बनाउन लागिपरेका छन् । राई निकै कडा मिजासका छन्। यसमा दिपक खड्का खेमालाइ मन नपराउनेहरुको भावना समेटेर राईलाइ जिताउने नीति सतहमा आएको छ । संखुवासभाका चर्चित नेता थलकुमार लिंखा अहिले गुरुङ समुहका हर्ताकर्ता भएर अगाडी आएका छन् । जिल्लामै पनि र राजधानीमा राईको पक्षमा समर्थन जुटाउन गुरुङ समुहको बाक्लै भेलाहरु गरिएको छ ।

उता दिपक खड्का, कोइराला समुहका अझ विशेष गरी महामन्त्री सशांक कोइरालाका विश्वास पात्र हुन् । गुरुङ समुहले जातीय समूहबाटै उम्मेदवारी दिने तयारी गरेसगै खड्का समुहपनि जनजाती उम्मेदवार उठाउने दवावमा रहेको छ ।

खड्का समुहले दिपक लिम्वु, रामकुमार जिमी र दिपेन्द्रमान शाक्य मध्ये एकलाइ अघि बढाउने तयारी छ । खड्का समुहका मुख्य सारथीमा महेश थपलिया, जनक थापा, डम्बर बस्नेत लगायतका नेताहरु खुलेर लागेका छन् । यि पात्रहरुको क्षमतालाई लिएर अहिलेबाटै विभिन्न टिकाटिप्पणी सुरु भइसकेको छ ।

यसपटक भने अघिल्लो अधिवेशन भन्दा ठिक विपरितको समिकरण रोचक देखिएको छ । गुरुङको समुहबाट सभापति जितेका दिपनकुमार श्रेष्ठ तारामान गुरुङसग छैनन् । यस्तै खड्का समुहको उम्मेदवार पासाङ शेर्पा दिपक खड्कासग छैनन् । अहिले अघिल्लो अधिवेशनका प्रत्याशीहरु श्रेष्ठ र शेर्पा कुनै समुहमा छैनन् । उनीहरु छुट्टै स्वतन्त्र रुपमा अघि बढेका छन् । गुरुङ र खड्कावीचको द्धन्द र अहमले कांग्रेस कमजोर हुन पुगेको निष्कर्षसहित यि नेताहरु कुनैपनि समुहमा आवद्ध नभएको उनी निकटहरु बताउँछन्।

सभापति बनेपनि गुटउपगुटहरुले स्वतन्त्ररुपमा काम गर्न नदिदा सभापति दिपनकुमार श्रेष्ठको कार्यकाल त्यति सफल रहेन । सबैलाई मिलाएर जान खोज्दा श्रेष्ठको कार्यसम्पादन प्रभावकारी नदेखिएपछि अहिलेको अधिवेशनमा यि दुई गुट हावी हुने संभावना बढेको छ।

यद्यपी यी दुइ समुहको खिचातानी र निषेधको राजनीतिले आजित संखुवासभा कांग्रेसका कार्यकर्ताहरुले एउटा सशक्त र युवाहरुको नया समिकरणको आवश्यकता महसुस गरेको जानकारहरु बताउछन् । अहिले कुनै पनि समुहमा नखुलेका सभापति दिपनकुमार श्रेष्ठ, पूर्व सांसद पासाङ शेर्पा, पूर्व सांसद टंकप्रसाद राई, पूर्व सांसद विना पौडेलहरु एक ठाउमा आउन दवाव सुरु भएको छ । पूर्व राज्मन्त्रीहरुको द्धन्दका कारण पार्टी कमजोर नहोस् भन्ने धारणा आउन थालेका छन् ।

पार्टीका युवाहरु यो नयाँ समिकरण बने संखुवासभा कांग्रेसले नयाँ बाटो लिएर अघि बढ्नेमा विश्वस्त देखिन्छन् । यस्तो संयोग जुरे खुलेर सहयोग गर्ने बताउन थालेका छन् । कुमारबाबु अधिकारी, थिरबहादुर राई, ज्ञानबहादुर कार्की, रामबहादुर बस्नेत,  निरु तामाङ, कल्पना अधिकारी, टकमान गुरुङ, छत्रमणी काफ्ले लगायत कांग्रेस जिल्लामा प्रभाव राख्ने नेताहरु नयाँ समिकरणको पक्षमा रहेको बुझिएको छ ।

तर यो समिकरणले आकार ग्रहण गर्नेमा जिल्लाका बरिष्ठ नेताहरु नै शंका गर्छन् । अहिलेका सभापति दिपनकुमार श्रेष्ठ र पूर्व राज्यमन्त्री दिपक खड्कावीच १४औं अधिवेशनलाई लिएर पटक पटक भेट भएको गुरुङ समुहको दावी छ । खड्का समुहको पनि रोजाईमा श्रेष्ठ रहेको बुझिएको छ ।

यदि खड्का समुह र श्रेष्ठ वीच गठबन्धन भए नयाँ समिकरण अस्तित्वमा आउन सक्दैन । अहिले देखिएको समुह र गुटको खेलमा नया समुह आए अवको अधिवेशन अझ प्रतिस्पर्धात्मक हुने देखिन्छ । जे जस्तो परिस्थिति भएपनि यसपटक नेतृत्वमा युवाहरुको वाहुल्य रहनु पर्छ भन्ने मत एकातिर छ। अब बरिष्ठ नेताहरुलाइ सम्मानका साथ विदा गर्नैपर्छ । अव कांग्रेस युवाहरुले हाँक्नु पर्छ भन्ने मत जोडदारले उठेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ