arrow

स्थानीय लघु जलविद्युत बिग्रेर स्थानीय अन्धकारमा

फाल्गुनन्द ४ र ५ साबिक चिलिङदेन र फाक्तेपमा केन्द्रीय विद्युत् प्रसारण लाइन जोडन माग

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ असार २९ मंगलबार
hydro power offce.jpg

पाँचथर । नियमित रूपमा विद्युत् आपूर्ति सहज नहुँदा पाँचथरको फाल्गुनन्द  गाउँपालिका वडा न. ३ र ४ साबिक चिलिङदेन र फाक्तेप गाविसका विभिन्न स्थानका नागरिकहरू मर्कोमा परेका छन् ।  स्थानीय लघु जलविद्युत सञ्चालन गरिएको ती स्थानमा केन्द्रीय प्रसारण लाइन नजोड्दा त्यस क्षेत्रका स्थानीय मर्कामा परेका हुन् । त्यस क्षेत्रका स्थानीयले चाँडै यस क्षेत्रमा केन्द्रीय विद्युत् प्रसारण लाइन जोडन माग गरेका छन् ।

 स्थानीय स्तरमा सञ्चालन भएको लघु जलविद्युत परियोजनाको मेसिन तथा कुलो मर्मत सम्भार भइरहेको हुँदा नियमित विद्युत् आपूर्ति हुन नसक्दा आफूहरू अन्धकारमा बस्नु परेको फाल्गुनन्द ४ का वडा सदस्य कवीन्द्र लावतीले बताए । उनले भने,“ती लघु जलविद्युतमा अहिले कुलोको मर्मत र मेसिनको मर्मत सम्भार भइरहेको हुँदा नियमित रूपमा बत्ती नहुँदा हामी अन्धकारमा बस्न बाध्य छौ ।” 

केन्द्रीय प्रसारण लाइन जोड्ने पहल भइरहे पनि अहिले सम्म त्यसका लागि सम्बन्धित निकायले कुनै प्रक्रिया अघि नबढाई दिएको उनले गुनासो गरे । वडा सदस्य लावतीले भने,“जिल्लाका दूर दराज सबै तिर बिजुली पुगे पनि हामी सुगमकै ठाउँ भए पनि दुर्गमको ठाउँजस्तो भएर बस्नुपरेको छ,उनले थपे, “यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौ, यस भेगमा पनि चाँडै केन्द्रीय प्रसारण लाइन जोडियोस् ।”

साबिक फाक्तेप गाविसको वडा न ९ र १ तथा साबिक चिलिङदेन गाविसको वडा न. ७ मा श्रीजंगा निबु खोला चौथो जलविद्युत परियोजना र साबिक चिलिङदेन वडा न.१ र ८ मा सञ्चालित हाङसाबे लघु जलविद्युत परियोजना सञ्चालनमा रहेको छ । तर ती दुवै परियोजनामा अहिले पुरानो मेसिन भएको हुँदा बिग्रिरहने समस्याका कारण त्यस क्षेत्रका स्थानीय मर्कोमा परेका हुन् । श्रीजंगा निबु जलविद्युत परियोजना बाट २० किलोवाट र हाङसाबे लघु जलविद्युत बाट १२ किलोवाट विद्युत् उत्पादन हुँदै आएको छ । श्रीजंगा निबुखोला जलविद्युत परियोजना बाट २ सय १४ घर र हाङसाबे जलविद्युत परियोजना बाट १ सय ५० परिवारले बत्ती बाल्दै आएका छन् ।

अहिले फाल्गुनन्द गाउँपालिका बाट श्रीजंगा निवु खोला लघु जलविद्युत परियोजनाको मर्मतका लागि ५ लाख रुपैयाँ विनियोजन भई मर्मत सम्भारको अन्तिम चरणमा रहेको छ भने हाङसाबे लघु जलविद्युत परियोजनाको यसपल्ट कोभिडका कारण काम हुन नसकेपछि पालिका बाट विनियोजित ३ लाख रुपैयाँ रकम फ्रिज हुने भएको परियोजना सञ्चालन समितिका अध्यक्ष नर प्रसाद नेम्बाङले बताए । 

उनले भने,“जलविद्युत परियोजनाको मेसिन बिग्रिएको छ,मर्मत गर्ने प्राविधिक पनि ल्याउन सकिएन जसका कारण यसपल्ट काम गर्न सकिएन,अव यो आ.व. ०७७-०७८ मा काम गर्न पनि समय छैन,अर्को आ.व.का लागि पुन जलविद्युत परियोजनाको मर्मत सम्भारका लागि रकम विनियोजन गरिदिन पालिकाका लाई भनेका छौ ।”

नियमित विद्युत् आपूर्ति नहुँदा अहिले यस भेगका नागरिकहरूलाई बिजुली बाल्न,मोबाइल चार्ज गर्न,कुटानी पिसानी गर्ने जस्ता विद्युत् बाट सञ्चालन हुने कामहरू गर्न समस्या भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ