काठमाडौं । चिकित्सा क्षेत्रका विद्यार्थीहरूमाथि सो क्षेत्रकै अधिकारीहरूबाट चरम लापरबाही भएको छ । विदेशमा एमबिबिएस पढेर आएका विद्यार्थीहरू सोही देश फर्किन नपाउँदा र यता सरकारले कुनै व्यवस्था नगरिँदा उनीहरू घर न घाटको अवस्थामा पुगेका हुन् ।
अहिले, चीनका विभिन्न विश्व विद्यालयमा एमबिबिएस पढेर सकेका विद्यार्थीहरू अहिले इन्टर्नसिप गर्न नपाउँदा अन्योलमा परेका हुन् । नेपाली विद्यार्थीहरू चीनमा एमबिबिएस अध्ययन गरिरहेकै बेला सन् २०२० को सुरुतिर कोरोना भाइरसको महामारी सुरु भयो ।
महामारी बढ्दै जाँदा पाँचौँ वर्षमा अध्ययनरत विद्यार्थीहरू नेपाल फर्किए र उनीहरूले अनलाइनबाटै क्लास लिएर पाँचौँ वर्ष सक्काए ।एमबिबिएसका विद्यार्थीहरूले शैक्षिक सत्र सक्काएपछि १२ महिनाको इन्टर्नसिप अर्थात् अस्पतालमै गएर काम गर्नुपर्ने हुन्छ ।
तर, चीनमा अध्ययन गरिरहेका सन् २०१५ र २०१६ को ब्याचका नेपाली विद्यार्थीहरूले पढाइ सक्काएर पनि इन्टर्नसिप गर्न पाएका छैनन् । नेपालमै भएका विद्यार्थीहरूलाई चीनका विश्वविद्यालयहरूले फिर्ता बोलाएका छैनन् ।
केही अघि नेपाल स्थित चिनियाँ दूतावासले चिनियाँ खोप लगाएका विद्यार्थीहरूलाई प्रवेश गर्न दिने भन्दै विज्ञप्ति निकालेको थियो ।
तर, देखावटी रूपमा विज्ञप्ति निकालेर विद्यार्थीहरूलाई प्रवेश गर्न दिने भने पनि एमबिबिएस पढिरहेका विद्यार्थीहरूलाई भने चीनले फिर्ता बोलाएको छैन ।
चीनमा गएर इन्टर्नसिप गर्न नपाउने भएपछि विद्यार्थीहरूले नेपालमै इन्टर्नसिपको व्यवस्था गर्न भन्दै सरकारसमक्ष हारगुहार गरेका छन् ।
तर, यसका लागि कुनै पनि सरकारी पक्षले ध्यान दिएको छैन । एक पक्षले अर्का पक्षसँग सम्बन्धित विषय रहेको भन्दै आलटाल गर्न खोजेको छ ।
असार २३ गते, चिकित्सा शिक्षा आयोगले यसअघि विदेशमा इन्टर्नसिप सुरु गरेका र सन् २०२० को अप्रिलसम्म पढाइसकेकाहरूले मात्रै नेपालमा इन्टर्नसिप गर्न पाउने भन्दै सूचना निकालेको छ ।
यसो हुँदा पढाइ सकेर बसिरहेका अन्य विद्यार्थीहरूले भने अब, इन्टर्नसिप गर्न नपाउने भएका छन् ।
चीनमा इन्टर्नसिप सुरु गरिसकेका विद्यार्थी र सन् २०२० को अप्रिलसम्म पढाइ सकिसकेका विद्यार्थीले मात्रै नेपालमा इन्टर्नसिप गर्न पाउने भएका हुन् ।
चीनकै विश्वविद्यालय जबाफदेही हुनुपर्छ !
यो बिषयमा सो देशकै विश्वविद्यालयहरू जिम्मेवार हुनुपर्ने चिकित्सा शिक्षा आयोगको भनाइ छ ।नेपालमा इन्टर्नसिप दिनका लागि आधार नै नमिल्ने आयोगको भनाइ छ ।
यसबारे छलफल गर्नका लागि कार्यदल रहेको बताए । कार्यदल र नेपाल मेडिकल काउन्सिललगायतले यस बिषयमा हेरफेर गर्न सक्ने चिकित्सा शिक्षा आयोगका अधिकारी सेमन्तराज कोइरालाले बताए ।
तर, वास्तवमा सम्बन्धी विश्वविद्यालयले नै कसरी आफ्ना विद्यार्थी व्यवस्थापन गर्ने भनेर निर्णय गर्नुपर्ने र जबाफदेही हुनुपर्ने आयोगको भनाइ छ ।
हाम्रो जिम्मेवारी हैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसको जिम्मेवारी चिकित्सा शिक्षा आयोग या नेपाल मेडिकल काउन्सिलले लिनुपर्ने बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले मन्त्रालयले अहिले यसको मुख्य जिम्मेवारी नलिएको बताए ।
यस्तै, शिक्षा मन्त्रालयले पनि चिकित्सा शिक्षा आयोगले नै यो विषयमाथि निर्णय गर्ने र केही समन्वय गर्नुपरेमा मात्रै मन्त्रालयले हेर्ने जवाफ दिएको छ ।
केही समन्वय मात्रै गर्ने हो : शिक्षा मन्त्रालय
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले चिकित्सा शिक्षा आयोगको सह अध्यक्ष शिक्षा मन्त्री हुने भए पनि आयोगकै सिफारिसमा समन्वय गर्न परेमा मात्रै मन्त्रालयले हेर्ने बताए ।
नेपाल मेडिकल काउन्सिल भन्छ, आयोगको विषय
यसै बिषयमा नेपाल मेडिकल काउन्सिलसँग बुझ्दा अस्पष्ट जवाफ मिल्यो ।काउन्सिलका प्रवक्ता धनराज राउतले चीनमा नै इन्टर्नसिप सुरु गरेका विद्यार्थीलाई मात्रै नेपालमा इन्टर्नसिप गर्न दिने निर्णय भएको बताए ।यसो हुँदा सन् २०१४ को ब्याचका विद्यार्थीहरूले मात्रै नेपालमा इन्टर्नसिप गर्न पाउँछन् ।
त्यसपछिका दुई ब्याच अर्थात् सन् २०१५ र १६ का विद्यार्थीहरू पढाइ सकेर नेपालमा बसिरहँदा समेत इन्टर्नसिप गर्न नपाउने निर्णय भएको देखियो ।
इन्टर्नसिपका लागि योग्य भएका विद्यर्थाीहरुलाई किन अनुमति दिइएन भनेर प्रश्न गर्दा, प्रवक्ता राउतले चलनले नदिएको बताए । यस विषयमा थप प्रश्न गर्न खोज्दा उनले माथिबाट विज्ञहरू बसेर गरेको निर्णय हो, मैले हैन, तर्क नगरौं भनेर टार्न खोजे ।
थप कुरा चिकित्सा शिक्षा आयोगमा गर्नुपर्ने भन्दै उनले कुरा समाप्त गर्न चाहे ।
चिनियाँ विश्वविद्यालयको लापरबाही
चिनियाँ विश्वविद्यालयले समेत विद्यार्थीको हकमा निर्णय गरेर अथवा नेपालसँग समन्वय नगरेको देखिन्छ । यसै लापरबाहीका कारण समेत महामारीका बेला एमबिबिएस जस्तो शिक्षा क्षेत्रकै विद्यार्थीहरूमा समेत ठुलो नैराश्य छाएको छ ।
विद्यार्थीहरूले चारै ठाउँमा बुझाए निवेदन
इन्टर्नसिपबाट वञ्चित भइरहेका करिब २ सय जना विद्यार्थीहरूले शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिल चारै ठाउँमा निवेदन बुझाएका छन् । आफूहरूमाथि भएको गैरजिम्मेवार व्यवहारबारे ध्यानाकर्षण गराउँदै विद्यार्थीहरूले देशको जुनसुकै कुनामा भए पनि इन्टर्नसिप गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण देशका विभिन्न क्षेत्रमा उपचार नपाएर समेत सङ्क्रमितको मृत्यु भइरहेको छ । यस्तो अवस्था निःशुल्क सेवा गर्न तत्पर ठुलो सङ्ख्याका एमबिबिएस विद्यार्थीहरूमाथि सरकारले पनि चासो देखाएको छैन । आफूहरू निःशुल्क रूपमा इन्टर्नसिपको मान्यता हुने देशको जुनसुकै ठाउँमा गएर सेवा गर्न तयार रहेको उनीहरूको भनाइ छ ।