arrow

डोटीमा कांग्रेस सभापतिमा दर्जन आकांक्षी, बढी देउवा पक्षका

logo
प्रकाश बम
प्रकाशित २०७८ असार २६ शनिबार
doti-congress-final.jpg

डोटी । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसमा चुनावी सरगर्मी वढेको छ। अन्य जिल्लामा झै डोटीमा पनि सभापतिलगायतका आकांक्षीहरु सदरमुकाम केन्द्रीत भएका छन् ।

संघीयताको संरचना अनुसार काङ्ग्रेसले पहिलो पटक महाधिवेशन गर्न लागेकाले यस पटकको महाधिवेशनलाई फरक तरिकाले हेरिएको छ । हिजोआज केन्द्रदेखि जिल्लासम्म सभापति, पदाधिकारीका बारेमा अड्कलवाजी गर्न शुरु भइसकेको छ । केहिदिन यता डोटी सभापति को वन्ने ? भन्ने चियो चर्चासंगै सभापतिका उम्मेदवारका आकांक्षीहरु धमाधम खुल्न थालेका छन् । भावी नेतृत्वका लागि कसरत शुरु भएको छ ।

जिल्ला सभापतिका आकांक्षीहरु 

डोटीमा सभापति उम्मेदवारमा दर्जनको हाराहारीमा आकांक्षीहरु देखिएका छन् । जसमा हालका सभापति प्रदीप कुमार देउवा, उप-सभापति लक्ष्मण बहादुर सिंह, महासमिति सदस्य भुमिराज वडु, नरेन्द्र सिंह, लोकेन्द्र शाही ,डिल बहादुर बम, पूर्व उपसभापति राम प्रसाद उपाध्यय, दिपक बिष्ट ,नेपाली काङ्ग्रेस डोटी ‘ख’ का क्षेत्रीय सभापति सिताराम जोशी, जिल्ला सदस्य तथा ‘क’ का पूर्वक्षेत्रीय सभापति जीत बहादुर खड्का लगायत रहेका छन् ।

बढी आकांक्षी देउवा पक्षका

सभापतिमा आंकाक्षा राख्नेमा संस्थापन पक्षका व्यक्तीहरु रहेका छन् । प्रमुख दाबेदार मानिएका पार्टी सभापति प्रदीप कुमार देउवा, उपसभापति लक्ष्मण सिंह, महासमिति सदस्य नरेन्द्र सिंह, लोकेन्द्र शाही, पूर्वउपसभापति तथा कार्यबाहक सभापति समेत चलाइ सकेका  उपाध्यय, नेपाली काङ्ग्रेस ‘ख’का क्षेत्रीय सभापति जोशी, पूर्वउपसभापति बिष्ट ,जिल्ला कमिटी सदस्य तथा पूर्वक्षेत्रीय सभापति खड्का लगायतका  शेरबहादुर देउवा निकट मानिन्छन् ।

यस्तै अर्का आकांक्षी मानिएका वडु पहिले देउवालाई सहयोग गर्दै आएको भए पनि अहिले काङ्ग्रेस नेता पूर्वमहामन्त्री प्रकाशमान सिंह नजिक मानिन्छन्  । त्यस्तै अर्का आकाक्षी बमले १३औं महाधिवेशनमा  जिल्लामा सभापति देउवालाई सहयोग गरेपनि केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहयोग गरेको कांग्रेसबृत्तमा चर्चा छ ।

अहिले उमेदवारको विषयमा फाइनल नभइसकेको नेपाली काङ्ग्रेस सभापति प्रदीप कुमार देउवाले बताए । उनले भने,‘आफु केन्द्र तथा जिल्लाका नेताहरुसंग सामूहिक छलफलमा रहेको र सबैको सामुहिक सहमतिबाट आफू के मा उठ्ने भन्ने कुराको टुङ्गोमा पुग्ने छु । वहालवाला जिल्ला सभापति भएको नाताले सभापतिमा मेरो दाबी स्वभाविक नै हो ।’

उपसभापति भइसकेपछि स्वभाविक रूपमा सभापतिमा आफ्नो दाबी रहेको उप सभापति लक्ष्मण सिंहले बताए । अहिलेसम्म कुनै लाभदायी पद नलिएर निस्वार्थ पार्टीमा लागेकाले अब पार्टी सभापतिका लागि आफु योग्य उम्मेदवार भएको महासमीती सदस्य भुमिराज वडुले बताए ।

त्यस्तै अर्का काङ्ग्रेस पूर्व उपसभापति राम प्रसाद उपाध्यले भने बिगतका दिनमा आफुले सचिव, उप सभापति हुँदै कार्यबाहक समेतको  जिम्मेवारी निर्बाह गरिसकेको र १३ औं महाधिवेशनमा पराजित समेत भएकोले यस पटक मेरो सभापति पदमा स्वभाबिक दाबी रहेकोे उनको भनाइ छ।

अर्का आकांक्षी बर्तमान महासमिति सदस्य समेत रहेका डिल बमले भने १४ औं महाधिवेशनमा मेरो पार्टी सभापतिका लागि स्वभाविक दाबी रहेको बताए । यसपटक सबैले सहयोग गर्नेमा बिश्वत रहेको बताए । पार्टीको विभिन्न क्षेत्रीय, महाधिवेशन महासमिति, जनप्रतिनिधि भएर काम गरिसकेको अनुभव भएकाले अहिले पनि पार्टीका नेता कार्यकर्ताको सल्लाह बमोजिम पहिलो प्राथमिकता गाउँ पालिका रहेको बताउँदै दोहोरो जिम्मेवारी दिए सभापति लागि स्वभाविक रुपमा उम्मेदवारी रहने बताए ।

पूर्व उपसभापति, महासमिति सदस्य समेत भैसकेका दिपक बिष्टले आफू काङ्ग्रेस नेता सिद्ध ओझादेखि अहिलेसम्मका सभापतिहरुसंग विभिन्न पदमा बसेर काम गरेको राम्रो अनुभव भएको र त्यसैले अब मेरो सभापतिमा पदमा दाबी रहने बताए ।

पार्टीमा लागेदेखि अहिलेसम्म कुनै पनि त्यस्तो लाभदायी पद नलिएर निस्वार्थ रुपमा राजनीतिमा लागेकाले सभापति पदमा मेरो दाबी भएको महासमिति सदस्य नरेन्द्र बहादुर सिंहले बताए । काङ्ग्रेसका बर्तमान क्षेत्रीय सभापति तथा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले भने अहिलेसम्म कार्यकर्ता र पार्टीले दिएको जिम्मेवारी कुसलतापूर्वक निर्बाह गरेको र अब आफ्नो उचित ठाँउ अर्थात सभापति पदमा दाबी रहेको उनको भनाइ छ ।

जिल्लामा निरन्तर रूपमा पार्टीका कार्यकर्ताका दुःख सुखमा रिझेको र पार्टीको क्षेत्रीय सभापति, जिल्ला सदस्य पदमा रही कार्यकर्ताको मन जितेकाले मेरो दाबी सभापतिमा स्वभाविक रहेको जित बहादुर खड्काको भनाइ छ।

तर जिल्लामा जसले सभापति देउवाको आशिर्वाद पाउँछन् उही पार्टी सभापति हुनसक्ने कांग्रेस कार्यकर्ताहरुले चर्चा गरिरहेका छन् ।

यद्यपी, अहिले काङ्ग्रेसका युवाहरूको एक जमात वडा तहदेखि जिल्लासम्म आफ्नो उपस्थिति हुन पर्नेमा जोड दिइ रहेका छन् । कांग्रेसको यही असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले  महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । संशोधित कार्यतालिका अनुसार गाउँरनगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुँदैछ । 

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ