arrow

ओलीलाई आफू ज्यूँदै छँदा ‘राजनेताको’ सालिक सजाउने रहर ! 

'ज्यूँदाको सालिक ? त्यो पनि लोकप्रियता घटेका बेला ? उनले उल्टै प्रतिप्रश्न गरे'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
kp-oli-angry.jpg
प्रधानमन्त्री केपीशर्मा ओली। (फाइल तस्विर)

काठमाडौं । ‘संघर्षपूर्ण राजनीतिक विरासतलाई सम्मान र अभिलेख गर्न ऐतिहासिक भूमि ढुङ्गे साँघु, शहीद भूमि छिन्ताङ, सुखानी तथा ऐतिहासिक भूमि उर्लाबारीमा प्रेरणादायी स्मृति केन्द्र निर्माणका लागि ५ करोड विनियोजन गरेको छु । यस्तै, प्रदेशभित्र राजनेता पार्क स्थापना गर्न १ करोड विनियोजन गरेको छु’ । यो प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा उल्लेखित बुँदा हो । 

११४ नम्बरमा रहेको यो बुँदाले धेरै थरी प्रश्न उब्जाएको छ । ‘राजनेता पार्क’को कुरा यो पल्टको बजेटमा मात्रै आएको भने होइन । गएको वर्ष समेत यसमा बजेट विनियोजन भएको थियो । तर,  सिन्को उठाउने सम्म काम भएन । कारण राजनेताकै विषयमा प्रदेश सरकार प्रष्ट छैन । यो कुरा मुख्यमन्त्री र मन्त्रीलाई मात्रै थाहा छ । मन्त्रालयका कर्मचारीलाई यसबारे थाहा छैन ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ताले यो विषयमा मुख्यमन्त्री र मन्त्रीलाई मात्र थाहा भएको बताए । उता, प्रदेशसभा सदस्यहरूले यो विषयमा सोच्नै भ्याएका छैनन् । तर, विपक्षी कांग्रेसका प्रदेसभा सदस्य शेखर चन्द्र थापाले भने यो विषयमा कुरा उठाएका छन् । 

उनले यसबारे सरकारको जवाफ मागेका छन् । प्रदेश सरकारले राजनेताको परिभाषासहित लिखितै व्याख्या दिनुपर्ने उनको भनाई छ । प्रदेशसभा सदस्य थापाका अनुसार राजनेता पार्क बनाउने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको छ । सत्ताधारी एमालेका प्रदेश सभा सदस्यहरू भने कुरा चपाइरहेका छन् । उनीहरू पुरानै नेताका नाममा पार्क बन्न बनाउने भनिरहेका छन् । 

पुरानो कुन नेता ? झापाका एमाले सांसद हिराकुमार थापाले जवाफमा भने, ‘यही नै भन्ने छैन । जुनसुकै दलका खास–खास नेताको बन्न सक्छ । वीपी, मनमोहन, गणेशमान, मदन भण्डारी । उहाँहरू जोसुकैको बन्न सक्छ । सबै जनाको एकै ठाउँमा पनि बन्न सक्छ ।’ अहिलेका नेताको बनाउने कुरा छ त !, उनी हाँसे । जवाफमा उनी भन्छन्, ‘ (हाँस्दै) ज्यूँदाको त के बन्थ्यो । पुरानै नेताहरूको बनाउने भनिएको होला । सालिक र पार्क बनाउनलाई प्रजातान्त्रिक आन्दोलनमा योगदान पनि त गरेको हुनु पर्छ होला नि !’

ओलीलाई सालिक सजाउने रहर !

बुझ्दै जाँदा प्रधानमन्त्री ओलीकै नाममा पार्क र सालिक बनाउने गरी बजेटमा यो कार्यक्रम आएको देखिन्छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री ओलीकै नामका पार्क बनाउन पटक–पटक यो कार्यक्रम बजेटमा राख्दै आएका छन् । यस्ता कुरामा प्रधानमन्त्री ओली र उनका कार्यकर्ता खुब रहर गर्छन् । विवादमै परे पनि उनीहरूलाई खास फरक पर्दैन । 

तर, पार्टीभित्रै यस्ता कुरामा अन्तर्विरोध छ । कुनै पुराना नेताको नाममा पार्क र सालिक बन्दा त्यो त्यसै निर्विवाद बन्छ । तर, अहिलेसम्म सुरसार नहुनुले प्रधानमन्त्री ओलीकै नाममा पार्क बन्न लागेको कुरालाई बल पुग्छ । एमालेकै एक जना प्रदेशसभा सदस्यका अनुसार अघिल्लो पल्ट यो कार्यक्रम राखेर कामै भएन । फेरि त्यही कार्यक्रम राखिएको छ । उनले भने, ‘गर्दै नगर्ने कार्यक्रम किन राखियो ? फेरि त्यसलाई निरन्तरता किन ? प्रजातान्त्रिक आन्दोलनका योद्धा जो सुकैको नाममा पार्क बनाउँदा कसले नाइ भन्छ र ? यहाँ कुरा अर्कै भएर बजेट कार्यान्वयन नभएको हो ।’ ज्यूँदाको सालिक ? त्यो पनि लोकप्रियता घटेका बेला ? उनले उल्टै प्रतिप्रश्न गरे ।  

न ठाउँ न ठेगान  

अघिल्लो बजेटमै आएको यो कार्यक्रमले फेरि पनि निरन्तरता पाएको छ । तर, अहिलेसम्म राजनेता पार्क कहाँ बनाउने भन्ने ठाउँ ठेगानको अत्तोपत्तो छैन । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ताका अनुसार यो पल्ट राजनेता पार्क बन्ने पक्का पक्की छ । तर, कहाँ बनाउने भन्ने कुरा अहिलेसम्म टुङ्गो लागेको छैन । उनले भने, ‘जग्गा किनेर बनाउने कुरा हुँदैन । पहिल्यै भएको अर्थात् सार्वजनिक ठाउँ भेटिए, बनाउने हो । ठाउँ अहिलेसम्म भेटिएको छैन ।’   

मन्त्रीकै छैन ठेगान

अहिले आर्थिक मामिला तथा योजना मन्त्रालय टंक आङबुहाङ लिम्बुले सम्हालिरहेका छन् । तर, उनकै टुङ्गो छैन, जागिर कतिखेर फुत्किने हो । माओवादी धारका उनी सग्लो नेकपा हुँदा प्रदेश संसदीय दलको उपनेता थिए । माओवादी फुटेपछि उनी मुख्यमन्त्री शेरधन राईकै फेरो समात्न पुगे । प्रचण्डले उनलाई कारबाही गरेका छन् । तर, कारबाही गरेका व्यक्तिलाई टिपेर राईले अर्थमन्त्री बनाइदिए । एमालेभित्रै रडाको मच्चिरहेकाले लिम्बु माओवादीमै फर्किने सम्भावना बढेको छ । आर्थिक मामिला मन्त्री लिम्बु निर्वाचित प्रदेशसभा सदस्य पनि होइनन्, उनी गैर सांसद मन्त्री हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ