arrow

कोरोना संक्रमितको घरघरमा गएर स्वास्थ्य सामाग्री वितरण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
indai-covid-recover.jpg

पाँचथर । पाँचथरमा अहिले कोरोना संक्रमितहरूलाई मनोबल बढाउन घरघरमा गएर परामर्श दिन र स्वास्थ्य सामाग्री वितरण गर्न थालिएको छ ।  पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेपछि ती संक्रमितहरू समेत बाहिर निस्केर हिँड्दा झनै जोखिम बढेको हुँदा उनीहरूलाई घरमै गएर परामर्श दिन र स्वास्थ्य सामाग्री वितरण थालिएको हो ।

 घरमै आएर मनोबल बढाई औषधी दिन थालेपछि कोरोना संक्रमितहरू पनि  आफूलाई खुसी लागेको र मनोबल उच्च भएको बताउँछन् । फिदिम ७ का गेहनाथ बास्कोटाले भने,“ यो अभियान अत्यन्तै राम्रो लाग्यो,जसले गर्दा आफहूरुलाई मनोबल उच्च भएको छ ।”

अहिले जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको नेतृत्वमा खटिएको विभिन्न टोलीले घरमा गएर कोरोना संक्रमितहरूलाई सम्झाउने,बुझाउने र परामर्श दिँदै आयुर्वेदिक औषधी समेत दिने गरेका छन् ।

यो अभियानले समुदायमा सकारात्मक सन्देश जाने र कोरोना संक्रमितहरूको पनि मनोबल उच्च रहने भन्दै जनप्रतिनिधीहरुले समेत यो अभियानलाई सकारात्मक रूपमा लिएका छन् । फिदिम नगरपालिका वडा न. ७ का वडाध्यक्ष गोपाल गुरुङ र वडा न. ८ का वडाध्यक्ष शेर बहादुर नेम्बाङ यो अभियान अत्यन्तै राम्रो र समुदायमा समेत यसले राम्रो सन्देश सम्प्रेषण हुने बताउँछन् ।

जिल्ला आयुर्वेद औषधालय बाट दिइएका आयुर्वेदिक औषधीले कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउने र बिरामी चाँडै निको हुन मद्दत पुग्ने जिल्ला आयुर्वेद औषधालयका प्रमुख डाक्टर सञ्जीव यादव बताउँछन् । 

कोरोना संक्रमितहरूको घरघरमा जाँदा संक्रमितहरूको मनोबल उच्च हुने,समुदायमा जागरण आउँदै सकारात्मक सन्देश फैलने भएको हुँदा फिदिम नगरपालिकाका १४ वटै वडामा रहेका कोरोना संक्रमितको घरमा टोली पुग्ने फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका अधिकारी बताउँछिन् ।
 
अहिले फिदिम नगरपालिकाको स्वास्थ्य शाखाले मास्क,सेनिटाईजर,जिल्ला आयुर्वेद औषधालय बाट मास्क,सेनिटाईजर जस्ता सामाग्री वितरण भइरहेको छ । यो अभियान राम्रो रहेको र यो अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको उद्योग वाणिज्य सङ्घ पाँचथरका अध्यक्ष दीपक नेपाल बताउँछन् ।
 
जिल्लामा कोरोना संक्रमितहरूको स्वास्थ्य सामाग्री,उपचार गर्नको निम्ति भन्दै फिदिम नगरपालिकाले पाँचथर अस्पताललाई २० लाख रुपैयाँ र जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिलाई ६ लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराएको पुन प्रमुख प्रशासकीय अधिकृत अधिकारी बताउँछन्।
 
कोरोना पोजेटिभ भएपछि पनि संक्रमितहरू बजार,पसल,तथा गाउँघर डुल्न थालेको पाइएपछि  घरमै गएर उनीहरूलाई सम्झाई बुझाई गरी परामर्श दिँदै,स्वास्थ्य सामाग्री उपलब्ध गराउँदा समुदायमा त्यसको सन्देश राम्रो फैलने भएकोले यो अभियान थालिएको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाल बताउँछन् । 

पछिल्लो समय जिल्लामा कोरोना संक्रमितहरू बढ्न थालेपछि त्यसलाई न्यूनीकरण गर्न थालिएको यो अभियानले नागरिकहरूले समेत सकारात्मक रूपमा लिएका छन् । अहिले सम्म फिदिम नगरपालिकाको वडा न. १,२,४,७,८ नम्बर वडामा यो अभियान सञ्चालन गरिसकिएको छ । अव अन्य वडाहरूमा पनि यो अभियान सञ्चालन हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ