arrow

एमाले समर्थकलाई छानिछानी मन्त्रालयबाट कोरोनाको खोप, सर्वसाधारणले गरे अवरोध

logo
विवेक मिश्र,
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
covisheild-biratnagar.jpg

मोरङ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले कोरोनाको खोप कोभिड सिल्डको दुरुपयोग गरेको छ । मन्त्री उषाकला राईले पार्टी समर्थक र केही उद्योगपतिलाई लुकाएर कोभिसिल्डको दोस्रो डोज दिन लाग्दा स्थानीय वासीले खोप केन्द्रमा अवरोध पुर्‍याएका छन् । यससँगै मन्त्रीले खोपको दुरुपयोग गरेको खुलेको हो । 

एमाले समर्थक कार्यकर्ताले विराटनगरको तीन पैनी चौकमा पर्ने सिटी सिनेमा हलको गेटमा ताल्चा लगाएर गेटबाट मान्छे छान्दै खोपका लागि भित्र पठाउँदै गर्न थालेपछि स्थानीयवासी आन्दोलित भएका थिए । 

दिउँसो १ बजे खोप लगाउन सुरु गरिएको थियो । सिटी सिनेमाअगाडि मानिसको भिड बढ्न थालेपछि स्थानीय वासीले सोधखोज गरेका थिए । दोस्रो चरणको खोप  एमाले समर्थित कर्मचारी तथा एमाले समर्थक लगायत गएका थिए।

 बा १ झ ९३६५ नम्बरको मन्त्रालयको खोप बोक्ने गाडीलाई स्थानीयले हो हल्ला गर्दै अवरोध समेत गरेका थिए । खोप प्राविधिक हरि घिमिरेले  जिल्ला स्वास्थ्य कार्यालयले खटाए बमोजिम काम गरेको बताए । त्यहाँ  १ सय ५० जनाले खोप लिएका थिए ।  सो विषयमा सोध्दा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले आफूलाई जानकारी नभएको बताए । यो घटनाको विषयमा सर्वसाधारण जनताले अवरोध पुर्‍याएपछि प्रहरीलाई कोभिडसिल्ड बोकेको गाडी र खटिएका कर्मचारीलाई सुरक्षा दिन हम्मे हम्मे परेको थियो । 

कोभिडसिल्ड खोपको दुरुपयोग भएको आवाज केही समय यता उठ्दै आए पनि यस पटक भने खुलेआम देखिएको छ । स्थानीय तहले कोभिडसिल्ड खोप आफ्ना नागरिकलाई सहजरुपमा समन्वय गरी प्रदान गर्न भनेर माग गरिरहँदा सामाजिक विकास मन्त्रालयले मनोमानी रुपमा खोप लाउन थालेको हो ।

 यस विषयमा विराटनगर महानगरका मेयर भीम पराजुलीका प्रेस संयोजक कौशल निरौलाले सामाजिक सञ्जाल फेसबुकमा कोभिडसिल्डको दुरुपयोग र अव्यबस्थित रुपमा वितरण भएको गुनासो पोखेका छन् । उनले फेसबुकमा लेखेका छन् , कोभिडशिल्ड भ्याक्सिन लुकिछिपी लगाइँदै छ रे त ! प्रदेश १ सामाजिक विकास मन्त्रालयको काम अहिले यही भा छ रे । मन्त्रीको कब्जामा भ्याक्सिन भए पनि दोष चाहिँ विराटनगर महानगरका मेयर भीम पराजुलीलाई लाग्या छ ।

खोपको विषय केही दिन यता विवादमा परिरहेको छ । मन्त्रालयले खोप वितरण गरिरहँदा महानगरले लगाएको भन्ने हल्ला चलेको र सोही कुराको भ्रम फैलाउँदै  विराटनगर महानगरका मेयर भीम पराजुलीलाई  विवादमा ल्याउने प्रयास गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ