arrow

यस कारण अब ‘आइ लभ केपी बा’ भन्न सकिन्न

logo
राजेन्द्र बम
प्रकाशित २०७८ जेठ ९ आइतबार
rajendara bam.jpg

सन्की, जिद्दी र घमण्डको भण्डारले ओतप्रेत  भएका निरंकुश शासक जसले कहिल्यै देश र जनताको लागि सोचेनन्। पूर्व राष्ट्रपति डा.रामवरण यादवले शिरमा ढोगेर जारी गरेको संविधानलाई पैतलामुनी च्याप्दै हिडेका छन् । यो त सरासर निरंकुश प्रवृत्ति भएन र ? यति सम्मकी संविधान भन्दा माथिका न्यायालय, निर्वाचन आयोग लगायतका सबै निकायहरुलाई समेत नियन्त्रणमा राखेका छन्।

फरक यतिमात्रै हो कि यिनका सामु शिर निहुराएर जयजयकार गर्न पर्दैन यी र जङ्ग बहादुर राणाबीच कुनै फरक देखिदैन । हो, म मेरो सुन्दर देश नेपालको इतिहासकै निरंकुश प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा गर्दैछु। अब सम्माननीय भन्न चाहेर पनि यो मन मान्दैन। हो, म खड्कप्रसाद शर्मा ओलीको कुरा गर्दैछु, जो यदाकदा ओलीको नामले परिचित छन् । उनले आफ्नो सत्ता टिकाउन यतिसम्म गर्छन् कि कसैलाई मार्न समेत पछि पर्नेवाला छैनन् ।

हुन त मेरो सुन्दर देशको प्रमको बारेमा उनले गरेका कर्तुत लेख्दै गर्दा मेरा हात काप्नु पर्ने हो तर छैनन्, कलम दौडिरहेको छ, यस्तो लाग्छ उनका कर्तुत लेख्दै जाँदा यो कलमको आयु पनि सकिने छ। काम चलाउ प्रधानमन्त्री बन्न पुगेका शन्की, केपी शर्मा ओलीको राजनैतिक सफलता भनेको उनको चतुर्याइ र सेटिङ नै हो। उनले सत्तामा पुग्न भन्दा अगाडी नेपाली जनता सामू फालेको अस्त्रको सुरुवात नाकाबन्दीविरुद्धको चर्को भाषण थियो । त्यसपछि एकपछि अर्को गर्दै उनका जालझेल र सेटिङ्गहरुको पर्दाफास हुँदै गयो। उनी समय समयमा विभिन्न जालझेली अस्त्रको प्रयोग गर्दै जनताको सेन्टिमेन्ट जित्न सफल भए ।

विभिन्न कालखण्डमा समय अनुकुलका अभिव्यक्ति, सेटिङ र सपनाको विजारोपण ओलीलाई सत्तामा टिकाउने कोषेढुङ्गा सावित भए। जनतलाई अनेकौं सपना देखाएर, चुट्किला सुनाएर र रेलदेखि पानी जहाजको भ्रम फैलाएर उनी बहुमतको सरकार बनाउन सफल भए ।तत्पश्चात बहुमत प्राप्त प्रधानमन्त्रीमा विस्तारै दम्भ, अहंकार र घमण्डको बिकास हुँदै गयो । र यसरी ओलीलाई जनतासामु वास्तविक परिचय झल्काउने केहि राजनीतिक घटनाक्रमहरु बिकास भए ।

१.समय समयमा सार्वजनिक भएका भ्रष्टाचार र घोटाला काण्डहरुमा मुच्छिएका व्यक्तिहरुलाई कारवाही गर्नुको साटो सार्वजनिक रुपमा उनीहरुकै बचाउमा अभिव्यत्ति दिंदै हिड्नु ।

२.भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग कुनै जानकारी बिना मध्यरातमा ओलीको नीजि निवास बालुवाटारमा भेटघाट ।

३. नेकपा फुटाउनका लागि पार्टीको बैठक बहिष्कार गर्दै सरकार सञ्चालनमा निरंकुश प्रवृत्तिको सुरुवात ।

४.राजनीतिक दल विभाजन र संवैधानिक परिषद् सम्बन्धि संविधान विपरित अध्यादेश जारी ।

५.आफ्नै झण्डै दुइ तिहाइ सांसद भएको प्रतिनिधि सभा विघटन ।

६.नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेतालाइ पार्टीबाट निलम्बन ।

७.नेकपा एमालेका माधव पक्षका सांसदहरुलाई कारवाहीका लागि स्पष्टिकरण ।

८.अदालतसँगको सेटिङमा माग दाबी विपरित नेकपा खारेज गराउँदै पुर्ववत पार्टी एमाले र माओवादी केन्द्रको पुनर्स्थापना ।

९.भारतीय ‘रअ’सँग अर्को भेटघाट गरी महन्थ ठाकुर र राजेन्द्र महतोलाइ आफ्नो पक्षमा पार्न सफल ।

१०.भारतीय नागरिकलाई नागरिकता दिनका लागि तथा मधेसबादी दललाइ खुशी बनाउनको लागी राष्ट्रियतासँग जोडिएको नागरिकता विधेयक अध्यादेशमार्फत राष्ट्रपति कहाँ पठाउनु ।

११. एक मधेस एक प्रदेशको माग पुरा हुने गरी संविधान संसोधनको लागी ५ सदस्यीय कार्यदल गठन ।

१२.सरकार संचालन र नियुक्तिमा आफ्नो गुटबाहेक अरुलाइ पूर्ण बेवास्ता ।
 
१३.नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त्त केपी शर्मा ओलीद्वारा सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिनपर्ने प्रावधानको उल्लंघन गर्दै उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनुपर्ने सिफारिस राष्ट्रपति समक्ष पेश ।

संविधानको संरक्षण गर्ने दायित्य रहेको राष्ट्रपतिबाट समेत प्रधानममन्त्रीको उक्त सिफारिस अनुसार नै एकदिनको मात्र समय दिएर नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आह्वान । प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेर पदमुक्त भएपछि ठूलो दलको नेताको रुपमा प्रधानमन्त्री नियुक्त भएका तर, विश्वासको मत लिन नसक्ने भन्दै हात उठाएर धारा ७६ (५) अनुसारको सरकार गठनका लागि सिफारिस गरेका प्रधानमन्त्री ओलीलाई अचानक १५३ सांसदको समर्थन रहेको भन्दै जालझेल सुरु

१४. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि माग दाबी भयो । तत्पश्चात शेरबहादुर देउवा प्रधानमन्त्री हुने भएपछि अल्पमतका काम चलाउ प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट दोस्रोपटक प्रतिनिधि सभा विघटन ।

केपी ओलीको राष्ट्रियताको चर्को नारा अनि विगतका दिनमा ओलीले गरेका निर्णयहरुले जनतालाई भ्रममा पार्न मात्र हैन ओली भन्ने पात्र पुरै सेटिङले चल्ने कुरा विहानीको घाम जस्तै छर्लंग भएको छ । सपथ ग्रहण गर्दा देश र जनताका लागी इमान्दार कर्तव्यनिष्ठा पूर्वक काम गर्ने भनी प्रतिज्ञा गर्छु भन्न डराउने धन्धुकारी नेताले सुखी नेपाली समृद्द नेपालको नारा दिएर जनतालाई कति भ्रममा पार्न सकेको प्रश्न यतिबेला आफैमाथि उठ्न थालेको छ। केपी ओली र विद्यादेवि भण्डारीलाई भोलिका दिनमा इतिहासले एउटा कलंकित प्रधानमन्त्री र राष्ट्रपति भनेर स्मरण गरेर धिक्कार्नेछन्।

देश र जनता कोभिड–१९ को महामारीसँग जुधिरहँदा लाजशरम त्यागेर, देश र जनताप्रतिको उत्तरदायित्व बिर्सिदै सत्ताको खेलमा लिप्त भैरहने । संविधान र संसदलाई आफ्नै पेवा ठानेर आफू अनुकुल व्याख्या र प्रयोग गरिरहने प्रवृत्तिले ओली अलोकतान्त्रिक, स्वेच्छचारी, निरंकुश र प्रतिगमनकारी व्याक्तित्व रहेको खुलस्त पारेको छ ।

अर्को बिडम्बना भनेको कोरोना भाइरसको महामारीको यो विषम परिस्थितिमा ओलीको भूमिका गौण छ। क्यानडाका प्रमले कोरोना संक्रमितको बेडमै गएर हौसला दिन्छन् । दिल्लीका सिएम केजरिवालले १५ दिनमै ५०० वार्डको आइसोलेसन भएको हस्पिटल उद्घाटन गरे । तर, एसियाको एउटा कुनामा रहेको हाम्रो राष्ट्र नेपालमा ओलीजस्ता तानाशाहीको नेतृत्वका कारण सयौं जनताले दैनिक ज्यान गुमाइरहेका छन् ।

राष्ट्रियताको झुटो खोल ओढेका केपी ओलीले कालापानी लिम्पियाधुरा, लिपुलेक नेपालको बनाए भनेर जुन कुरा को ब्याज खाएका छन् । जब भुगोलमा बस्ने मान्छे नै रहेनन् भने त्यो जमिनको के काम ? राष्ट्रियता भनेको देश र देशमा बस्ने जनताको रक्षा गर्नु हो। तर, देश र जनतालाई अस्तव्यस्त अवस्थामा छाडेर, राजनीतिक खिचातानी गर्दागर्दै ओली पूर्णरुपमा असफल भइसकेका छन् । यति देख्दा पनि ‘केपी बा आइ लभ  भन्छौ भने बिन्ती त्यो लव शब्दको बेइज्जत नगर्नुहोला । बरु घरमा आमाबुवालाइ भन्नुहोला । कमसेकम आमा बुवा त खुसी हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ