arrow

आमा अर्थात् तीर्थ

logo
राधा लुइटेल,
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
radha-luitel.jpg

‘आमा’ सबैका जनजिब्रोमा झुण्डिएको शब्द । सायद जो कोही बालबालिकाले बोल्ने कोशिश गर्दादेखि मर्ने बेलामा – (श्वास जान लाग्दा) सारो, गारो, खुशी र सजिलो जुनसुकै बेला उच्चारण गरिने शब्द । ‘आमा’ यस्तो सम्बन्ध जसको अनुपस्थितिमा यो सारा सृष्टिका कुनै पनि मानव अनि जीवजन्तुको कल्पना सम्म गर्न सकिन्न । आमाका यी र यस्तै कयौं गुणहरु छन् जसलाई शब्दमा वर्णन गरेर साध्य छैन । सायद त्यसैले होला हिन्दु धर्म शास्त्रले वैशाख कृष्ण औंशीको दिनलाई माता तिर्थ औंशीका रुपमा परिभाषित गरेको छ । यो दिनलाई आमाको मुख हेर्ने पर्वका रुपमा लिइन्छ ।

सानै छँदा रेडियोमा आज आमाको मुख हेर्नेदिन भन्ने सुनेपछि मैले उहाँलाई आँ... गर्न लगाएकी थिएँ । किशोरावस्था पार गरे लगत्तै जब म जन्म घर छोडेर कर्मघर लागेँ । त्यस पश्चात् प्रत्येक वर्षको वैशाख कृष्ण औंशी नजिकिँदै जाँदा बाल्यकालसँगै आमासँग बिताएका ती स्वर्णीम यादहरु मानसपटलमा घुम्न थाल्छन्  । 

यो वर्ष माता तीर्थ औंशी वैशाख २८ गते परेको छ । हो यही पर्वको पूर्व सन्ध्यामा मेरो मस्तिष्कमा जेलिएका बाल्यकालका संस्मरणलाई यसरी शब्दमा उतार्दैछु । सायद नांै महिनासम्म कोखमा बसेर प्रसव पीडा दिँदै बाहिरिए लगत्तै  च्याँ...गरेर रुँदा नरुँदै गुन्युको फेरले पुछपाछ पार्दै दूध चुसाउनु भयो । अनि थाङनामा पोको पारेर काखी च्याप्दै माया र ममता बाँड्ने सायद आमा बाहेक कोही हुन सक्दैन ।  

पल पलमा भोक तिर्खा लागेर रुँदा दूध चुसाउनेदेखि दिसा पिसाब गर्दा सरसफाइ गर्ने अनि अलि ठूली भए पछि लिटो पिठो ख्वाएर पेट भरिदिने, चिसो हुँदा तातो अनि गर्मीमा शीतल बनाइ दिने पनि ‘आमा’ । आफ्ना आवश्यकताहरु व्यक्त गर्न नसकेर म छट्पटिँदा कत्ति पीडा हुन्थ्यो होला ? म बिरामी पर्दा अनि चिसो तातो नमिलेर झगडा गर्दा आँखा मिच्दै काखमा बोकेर कति रात जागा बस्नुभयो होला । 

एकैछिन म निदाएका बखत ढिकी जाँतो गर्दै खाना बनाएर परिवारका सदस्यको पेट भर्ने जिम्मेवारी पनि तपाईकै थियो सायद । अनि गाई भैंसी भोकाउँदा तिर्खादा घाँसपानीदेखि मेलापात गर्ने र भकारो सोहोर्ने जिम्मेवारी पनि तपाईकै हुन्थ्यो होला ।

मैले आफ्नो भोक तिर्खा मेटाउन तपाइको दूधबाट रगत निस्कने गरी चुस्दा पनि सन्तुष्ट मानेर निदाउने पनि ‘आमा’ । धर्ती अनि सृष्टि रुपी ‘आमा’ । यो संसार पनि आमा शव्द भित्र अटाउन्न सायद । आमा प्रेमकी साक्षात् मूर्ति तपाइँकै काखमा लडीबुडी गर्दै म हुर्किएँ । छातीमा टाँसिएर मनको बह पखाल्थेँ । अनि मलाइ घरमा छोडेर कतै जानु भएका बखत तपाईका कपडा काखी च्यापेर घर फर्किने बाटो कुरिरहन्थेँ । 

आमाले नै मलाइ बोल्न सिकाउनु भयो ताते ताते गर्दै हिँड्न र खेल्न सिकाउनु भयो । अनि अलि ठूलो भएपछि हातमा हात समातेर मेलापात गर्दै हुर्काउन ुभयो । मलाई राम्रोसँग थाहा छ कुनैदिन आमाले केही चपाए जस्तो गरेर मुख चलाउँदा किन मलाइ नदिइ खाएको भनेर झगडा गरेको क्षण ।

समय बित्तै जाँदा जब आफू आमा बनेँ त्यसपछि मैले ‘आमा’ हुनुको थप महत्व बोध गरेँ । तपाईले सन्तानलाई प्राण दिनकै लागि आफ्नो प्राणलाई दाउमा राख्नु भएको छ ।  आफुले मृत्यु झेलेर सन्तानलाइ जीवन दिनु भएको छ ।

आज तपाईलाई सम्झने दिन सम्झने दिन । आमाको महिमालाई स्मरण गर्ने दिन । भौतिक रुपमा ‘आमा’ भन्दा टाढा रहेका छोराछोरीका मानस पटलमा सायद यी र यस्तै अतितहरु फनफनी घुमिरहेका होलान्  । पोहोर साल लकडाउनका कारण तपाईलाइ भेट्न नपाएका म जस्ता हजारौं छोराछोरीले यो वर्ष पनि यस्तै व्यथा बोक्नु परेको छ । 

हुनत संसार स्वार्थी छ । छोराछोरीलाइ फुर्सद छैन । पैसा कमाउने चटारो छ । धन–दौलत जोड्नु पर्छ । सामाजिक प्रतिष्ठा आर्जन गर्नुछ । मान–सम्मान लिनुछ । देश–दुनियाँ घुम्नु छ । आमालाइ भेट्न त पर जावोस सम्झने पनि फुर्सद छैन । कतिपय आमाहरु त छोराछोरीले बोझ मानेकै कारण वृद्धाश्रममा पुर्याइएका छन् । धेरै आमाहरु छोराछोरीको इज्जत ढाक्न एक्लै संघर्ष गरिरहेछन् । अनि प्रायः आमाहरु छोराछोरी भोकै भए कि भनेर चिन्ताले जलिरहेछन्  । 

मैले कतै पढेकी थिएँ । ‘आमा उहिल्यै छोराछोरीले खाना नखाइदिँदा रुन्थिन् रे अहिले तिनै छोराछोरीले खान नदिँदा आमा रुँदैछिन्  ।’  

निष्कर्षमा ‘आमा’ त्यसै तीर्थ हुन् आमालाई भेट्न र सेवा गर्न कुनै पर्व कुरिराख्नु पर्दैन । आमाको वर्णन गरेर साध्य छैन । आमा स्वयम् सदैव सबैका लागि स्वर्ग अनि भगवान हुन् । 

आमाका साथ रहने जो कोहि भाग्यशाली ठहर्नु स्वभाविक छ । यद्यपि बिहेवारी गरेर जन्मघरबाट टाढिएका अनि मजबुरीका क्रममा घर छोडेर हिँडेका जो कोहीका लागि भने माता तीर्थ औंशी आमासँग भेट गर्ने गहकिलो माध्यम हुनसक्छ । त्यसैले जय आमा जय मातातीर्थ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ