arrow

झापामा अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन

logo
रासस,
प्रकाशित २०७८ वैशाख २५ शनिबार
oxygen-cylinder-1620466948.jpg
तस्बिर : फाइल

झापा। लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न झापामा प्रहरी परिचालन गरिएको छ। दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ। मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताए।

कोभिड–१९ महामारीको दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ। विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर सङ्कलन गरी डिलरमा पुर्‍याएको छ।

दमकको मातृका ट्रेडर्स र बिर्तामोडको कपुरी ब्रदर्स तथा जल कन्या ट्रेडर्समा ती सिलिन्डर रिफिलका लागि पठाइएको थापाले जानकारी दिए। उनले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको बताए।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्कलन गरिएका सिलिन्डर निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने जनाए। “जुन अस्पतालमा अक्सिजन अभाव हुन्छ, त्यहीँ उपलब्ध गराउँछौँ”, प्रजिअ तिम्सिनाले भने, “अक्सिजन अभावमा सङ्क्रमितलाई सकस नहोस् भनेर उद्योगधन्दाका सिलिन्डर सङ्कलन गर्न थालेका हौँ।”

जिल्लामा आइसोलेसनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०३ रहेको छ। मेची प्रादेशिक अस्पतालमा रहेको ७५ शय्याको कोभिड अस्पतालमा ५० शय्या सङ्क्रमितले भरिसकेको छ।

अस्पतालको अनुगमन
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालको अनुगमन सुरु गरेको छ। प्रजिअ तिम्सिनाले निजी तथा सरकारी अस्पतालको अनुगमन गरेर त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितको उपचार अवस्थाका बारेमा जानकारी लिइएको बताए।

यहाँ ४०० आइसोलेसन कक्षको व्यवस्था रहेको उनले जानकारी दिए। मेची कोभिड अस्पतालमा ७५ शय्या आइसोलेसन र २५ शय्या एचडयू रहेको उनले बताए। त्यसै गरी बी एन्ड सी हस्पिटलमा २५ शय्याको आइसियु तथा भेन्टिलेटर र ७५ शय्याको आइसोलेसन वार्ड सञ्चालनमा छ। मनमोहन सामुदायिक अस्पतालमा अक्सिजनसहितको १० र विर्तासिटी अस्पतालमा २५ शय्याको कोभिड उपचार कक्ष रहेको छ।

मनमोहन सामुदायिक अस्पतालबाहेक अरू अस्पतालको कोभिड उपचारका लागि छुट्टाइएका आइसोलेसन शय्या सङ्क्रमित बिरामीले भरिएका छन्। आइसियु र एचडियुसमेत भरिएका छन्। प्रजिअ तिम्सिनाले जिल्लाका १५ स्थानीय तहले पाँचदेखि ५० शय्यासम्मका कोभिड आइसोलेसन कक्ष स्थापना गरेको हुँदा तत्काल जिल्लामा सङ्क्रमितका लागि शय्याको अभाव नरहेको बताए।

उनले अनुगमनका क्रममा निजी अस्पताललाई आवश्यकताअनुसार अक्सिजनसहितका शय्या थप गरी सङ्कटका बेला सरकारलाई सहयोग गर्न आग्रह गरिएको बताए। मेची प्रादेशिक कोभिड अस्पतालमा भने जनशक्तिको अभाव रहेको उनको भनाइ छ। “मेचीमा जनशक्ति अभाव छ”, उनले भने, “प्रदेश सरकारलाई जनशक्ति थपका लागि माग गरेका छौँ, जिल्लामा सकेसम्म जनशक्तिदेखि स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षण सामग्रीमा कुनै अभाव हुन दिँदैनौँ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ