arrow

कांग्रेस नेता गुरुङको अन्त्येष्टिका कारण संसदीय दलको बैठक स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
congress-party-office-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसले बिहीबार दिउँसो २ बजेदेखि बस्ने भनेको संसदीय दलको बैठक शुक्रबार बस्ने गरी स्थगित भएको कांग्रेसले जनाएको छ । 

अब बैठक शुक्रबार बिहान साढे ८ बजे बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्ने छ । कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं  संविधान सभा सदस्य सूर्यमान गुरुङको बैशाख २५ गते असामयीक निधन भएको र उनको बिहीबार अन्त्येष्टि गरिने भएकाले कांग्रेस संसदीय दलको बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसका पाका नेता सूर्यमान गुरुङको निधन भएको हो । ताप्लेजुङका कर्मठ नेता तथा पूर्वमन्त्री गुरुङको ८३ वर्षको उमेरमा निधन भएको हो । 

उनी काठमाडौँको हिमाल अस्पतालमा उपचाररत थिए । उनी कांग्रेसका हक्की नेताका रुपमा चिनिन्छन् । पञ्चायतकालमा उनका समकालीनहरु पञ्चायतमा छिरे पनि उनी भने कांग्रेस हुँ कांग्रेस भएरै मर्छु भनेर चट्टानझैँ अडिक रहेका थिए । 

२०१४ सालको भद्र अवज्ञा आन्दोलनमा भाग लिएर राजनीतिक यात्रा शुरु गरेका गुरुङ ताप्लेजुङ क्षेत्र नं १ बाट निर्वाचित नेपाली कांग्रेसका संविधान सभामा सभासद थिए । 

उनी २०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा पनि सोही क्षेत्रबाट चुनाव लडेका थिए । कांग्रेस ताप्लेजुङ जिल्ला सभापतिसमेत भएका गुरुङ पार्टी प्रशिक्षण विभाग सदस्य र आदिवासी–जनजाति संघको उपसभापतिको जिम्मेदारी सम्हालेका थिए । 

उनी पाँच वर्ष जेलमा र नौ वर्ष निर्वासनमा रहेका थिए । गुरुङका ३ छोरी र २ छोरा छन् । परिवार भेला भएपछि बिहीबार अन्त्येष्टि  हुन लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ