arrow

संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल थाले : माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
madhav-nepal-2081-01-17.jpg
तस्बिर-फाइल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुन थालेको बताएका छन् । 

नेकपा (एकीकृत समाजवादी) चितवनको १० औँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले संविधान र गणतन्त्रको रक्षाका लागि यसको पक्षमा रहेका शक्तिहरु एक हुनुपर्ने बताएका हुन् । उनले भने, “संविधान र गणतन्त्रको विरोधी शक्तिसँग हातेमालो गर्न सकिँदैन ।” 

अहिले पार्टी गठबन्धनमा रहेको भए पनि चैन भने नरहेको भन्दै उनले आक्रोश पोखे । उनले भने, “केही विमति छन् । कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैन ।” 

देशलाई समृद्धिको यात्रामा लैजान पहिला जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताए ।

समाज परिवर्तन र बेथिति अन्त्यका लागि पार्टीका कार्यकर्ता लाग्नुपर्ने उनले बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै नेतृत्व तह सुध्रिएर आए आफूहरु एकताको पक्षमा रहेको बताए ।

वामपन्थी शक्ति एकताबद्ध गर्नका लागि समाजवादी मोर्चा गठन गरिएको बताउँदै उनले विचार, सोच मिल्ने शक्तिसँग एकताबद्ध बनाउन सकिने बताए ।

एकताका लागि आत्मसमीक्षा, खुल्लापन र इमान्दारिता आवश्यक पर्ने उनले बताए ।

नेपालका कम्युनिष्ट दलमा अहिले खिया लागेको उनले बतांए । उनले भने, “कम्युनिष्ट दलहरुमा लागेको खिया हटाउन हामी आएका हौँ ।” 

अहिलेको राजनीतिमा कम्युनिष्ट आन्दोलनको विषयमा बहस हुन आवश्यक रहेको उनी बताए ।

पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले निर्वाचनबाट निर्वाचनसम्म मात्रै दलको यात्रा हुन नहुने बताए । दलले जनताको मन जित्न आवश्यक रहेको उनको भनाइ थियो । 

पार्टीलाई एकताबद्ध गर्दै अघि बढ्न आवश्यक रहेको बताउँदै उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै अघि बढ्न पार्टीको गठन गरिएको उनको भनाइ थियो ।

अर्का उपाध्यक्ष केशवलाल तुलाधरले विचारमा एकरुपता दिँदै कम्युनिष्ट एकता गर्न आवश्यक रहेको बताए । 

नेपाल कम्युनिष्ट पार्टी गठन गरेर लामो समय जान नसकेको भन्दै उनले अहिले सही विचारका साथ एकता गर्नुपर्ने बताए ।
पार्टीका उपमहासचिवहरु जगन्नाथ खनाल, डा गङ्गाधर तुलाधरले जनताको जनजीविकालाई मध्यनजर गर्दै अघि बढ्नु पार्टीको मूलमर्म रहेको बताए ।

उनीहरुले अहिले समाजको मुख्य सत्रु गरिबी र सुशासन रहेको बताए । पार्टीका सचिव हरि पराजुलीले दलहरुले जनतमलाई दिएको आश्वासन पूरा हुन नसकेको बताए । 

दलहरुले आश्वासन मात्रै दिने गर्दा समाजमा असन्तोष र अन्तरविरोध देखा परेको भन्दै उनले यसलाई अन्त्य गर्न समाजवादी पार्टी आएको बताए ।

कार्यक्रममा पार्टीको प्रदेश सह-इञ्चार्ज साध्यबहादुर भण्डारी, प्रदेश अध्यक्ष सावित्रा भुसाल, जिल्ला इञ्चार्ज कृष्णप्रसाद खनाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमालेका सचिव प्रकाश खनाल, नेकपा माओवादी केन्द्रका सचिव द्रोणबाबु शिवाकोटीलगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ