arrow

कर्णालीमा लगानी सम्मेलन अनिश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
Karnali-hamrakura.jpg
तस्बिर-फाइल

सुर्खेत । यही वैशाख १९ र २० गतेका लागि घोषणा गरिएको कर्णाली लगानी सम्मेलन अनिश्चित बनेको छ ।

कर्णाली प्रदेशका तत्कालिन मुख्यमन्त्री राजकुमार शर्माले लगानी सम्मेलन गर्न २०८० असोज ६ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकमा आयोजनाको विवरणसहित प्रस्तावना तयार गर्न कार्यदल गठन गरेका थिए ।

सम्मेलन तयारीका लागि योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीको नेतृत्वमा पूर्वाधार, आयोगका सदस्य ऋषि खनालको नेतृत्वमा कृषि, पर्यटन र जडीबुटी तथा आयोगका अर्का सदस्य जीतबहादुर शाहको नेतृत्वमा सामाजिक विकास कार्यदल गठन गरिएको थियो ।

प्रारम्भिक रूपमा २० भन्दाबढी बुँदामा लगानीकर्ता समक्ष पेस गरिने आयोजनासहितको प्रस्तावित मस्यौदा तत्कालीन मुख्यमन्त्री शर्मा समक्ष पेस गरिएको थियो । योजना आयोगका पूर्व सदस्य ऋषि खनाल भन्छन् , “बजेट, नीति तथा कार्यक्रममा समावेश त भयो तर फेरि अनिश्चित भइसक्यो ।”

सङ्घीय सरकारले लगानी सम्मेलन गरेलगत्तै कर्णाली प्रदेश सरकारले पनि लगानी सम्मेलनको आवश्यक तयारी गरेको थियो । तर प्रदेशमा सत्ता समीकरण फेरिएर नयाँ सरकार बनेसँगै कर्णालीमा लगानी सम्मेलन फेरी अनिश्चित बन्न पुगेको छ ।

लगानी सम्मेलन आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश योजना आयोगको पदाधिकारी पद रिक्त छन् । तत्कालीन मुख्यमन्त्री शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै योजना आयोगका पदाधिकारीको पद रिक्त भएको हो ।

योजना आयोगको उपाध्यक्ष शाही तथा सदस्यहरूमा जीतबहादुर शाह र ऋषि खनाल थिए । उनीहरूले लगानी सम्मेलनको तयारी अन्तिम अवस्थामा पुर्‍याउने समयमा सरकार परिवर्तन भएपछि तयारी अवरुद्ध भयो ।

प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । प्रदेश योजना आयोगका पदाधिकारी नियुक्तिको विषय पनि ओझेलमा परेको छ ।

प्राकृतिक स्रोत पर्याप्त भए पनि आर्थिक रूपमा पछि परेको कर्णालीमा २०७६ देखि नै लगानीकर्तालाई आकर्षित गराउन लगानी सम्मेलनको तयारी गरिँदै आएको हो ।

तर विविध कारणले लगानी सम्मेलन आयोजना गर्न सकिएको छैन । केन्द्रमा लगानी सम्मेलन आयोजना गरिएका कारण कर्णालीमा लगानी सम्मेलन २०८१ वैशाखका लागि सारिएको थियो ।

“आयोगले तत्कालिन मुख्यमन्त्रीलाई पेस गरेको प्रस्तावमा विद्युत् र जडीबुटीको क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कर्णालीमा जडीबुटी सम्बन्धी उद्योग स्थापना गर्नुपर्नेदेखि ठूला रणनीतिक योजना त्यसमा समेटिएका छन्”, पूर्व सदस्य खनालले भने ।

केन्द्रमा आयोजना हुने सम्मेलनलाई हेरेर लगानीकर्तालाई सुर्खेतमा ल्याउने, केहीलाई राराताल लैजाने र त्यहाँ पनि कार्यक्रम गर्ने, वृहत् विमर्श गनेलगायत योजना सरकार परिवर्तनसँगै ओझेलमा परेका उनको भनाइ छ ।

प्रदेश योजना आयोगका सूचना अधिकारी भीमनारायण खरेल वर्तमान मुख्यमन्त्रीसँग लगानी सम्मेलनको विषयमा छलफल नभएको बताउँछन् । प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७७ मङ्सिरमै लगानी सम्मेलन गर्ने योजना बनाएका थिए ।

उक्त सम्मेलन २०७८ वैशाखमा सारियो । कोरोना महामारीका कारण पनि सम्मेलन समयमै हुन सकेन । शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सम्मेलनबारे थप अन्योल भएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ