arrow

बाटो खोल्दिनु देउवा दाइ

logo
आरके त्रिपाठी,
प्रकाशित २०८१ वैशाख १७ सोमबार
rk-tripathi-81-01-17.jpg

नेपाली कांग्रेस एकढिक्का भई लाग्दा पनि ६ महिना पहिलाको चितवन, तनहुँको उप–चुनाव नतिजा र भर्खर सम्पन्न इलाम, बझाङको उप–चुनाव नतिजा हेर्दा कांग्रेस नेतृत्वले नैतिक जिम्मेवारी लिई कांग्रेस भित्र नयाँ नेतृत्वको लागि मार्ग खोलिदिन अब ढिलाई गर्नुहुन्न ।

कांग्रेस एकढिक्का भई एक्लै उठ्दा पनि पटक–पटक हार्ने अवस्था किन आयो ? भनि गम्भीर समीक्षा गर्ने बेला आएको छ । इलाममा त माओवादीले एमालेलाई मत दिई कांग्रेसलाई पछि पारिदियो । तर बझाङमा एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी छुट्टाछुट्टै उठ्दा पनि कांग्रेस किन हार्यो ? यो गम्भीर प्रश्न छ ।

कांग्रेसका एकथरि चाहिँ इलाममा कांग्रेस हारेको पिर गर्नुभन्दा इलाममा रवि लामिछानेलाई जनताले धुलो चटाइदिए भन्दै खुशी भइरहेको देखिएको छ । कांग्रेस हार्यो भन्दा पनि रास्वपाका सभापति रवि लामिछानेले इलाममा धुलो चाटे भन्दै रमाउनुले कांग्रेस भविष्यमा बलियो हुँदैन ।

अमेरिकामा १२ वर्ष बसी अमेरिकी राजनीति, संसदीय अभ्यास र नैतिक जिम्मेवारी बुझेँ भन्ने रवि लामिछानेले आफूमाथि सहकारी घोटाला छानबिन समिति गठन गर्न माग उठिरहेका बेला छानबिन हुनै सक्दैन भन्ने अहंकार र चरम सत्तालिप्साले उनको पार्टीलाई भोट नदिएर जनताले सबक सिकाइदिए । तर बेलायतको राजनैतिक पार्टीले पटक–पटक चुनाव हार्दा दल वा पार्टीको नेताले तुरुन्त राजीनामा दिने अभ्यास बुझेका, बेलायतमा पढेका शेरबहादुर देउवाजीले के गर्दा राम्रो होला ? उहाँले नै बुझ्नु पर्ने हो ।

नैतिक जिम्मेवारी लिई राजीनामा दिने राजनैतिक अभ्यास नेपाली कांग्रेसभित्र शुरु नहुने हो वा राजीनामा दिन चौतर्फी दबाब सिर्जना नहुने हो भने २०८४ को चुनाव कांग्रेसका लागि यसैगरी प्रत्युत्पादक हुन सक्छ ।

कांग्रेसमा नयाँ नेतृत्व वा कांग्रेस संसदीय दलमा नयाँ नेतृत्व आयो है भन्ने नपरेसम्म हामी यथास्थितिमै रहन्छौँ । हाम्रो भोट बढ्दैन । 

देश अस्तव्यस्त र असफल राज्य हुने संकेत देखियो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पूर्ण असफल भयो । देशभित्रै बेतिथि र भद्रगोल छ । भ्रष्टाचार निकै बढ्यो । अन्तर्राष्ट्रिय सम्बन्ध पनि खस्कियो ।

मानव अधिकारको अन्तर्राष्ट्रिय मापन पनि दयनीय देखियो । व्यापार घाटा उकालियो । बेरोजगारी बढ्यो । विदेशीले पनि नेपालमा लगानी गर्न आनाकानी गर्न थाले । कांग्रेस जस्तो पार्टी यो सब टुलुटुलु हेरेर बस्न हुँदैन । केपी ओलीसँग तुरुन्त वार्ता शुरु गर्नुपर्दछ ।

कांग्रेस नेता डा. शेखर कोइरालाले पटक–पटक आवाज उठाए जस्तो अहिलेको निर्वाचन प्रणालीले कुनै पार्टीको पनि बहुमत आउँदैन । निर्वाचन प्रणाली परिवर्तन गर्ने सर्तमा कांग्रेस, एमाले मिलेर सरकार बनाउने, राजनैतिक स्थायित्व दिने, आर्थिक वृद्धि गर्ने, जनतामा सुशासन दिने, कानूनी राज्य पुनःस्थापना गर्ने, संसदबाट बनाउनु पर्ने कानून बनाउने, निर्वाचन प्रणाली परिवर्तन गर्न संविधान संशोधन गर्नेलगायत तमाम पहल गर्नु पर्दछ ।  
 
कांग्रेसको संसदीय दलमा नयाँ नेतृत्व चयन गरी अब आउने दिनमा कांग्रेसको नेतृत्वमा सुविधाजनक सरकार बनाउन सकिने भए हिच्किचाहट गर्नु हुँदैन । यो अवस्था आए अब पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले त्याग देखाउन सक्नु पर्दछ । जो प्रधानमन्त्री भए पनि आफ्नै पार्टीको नेतृत्वमा नै सरकार बन्ने हो ।

रामले किष्किन्धा जिते । सुग्रिवले रामलाई नै राजा बन्न आग्रह गरे । रामले मानेनन् । मित्र सुग्रिवलाई नै राजा बनाए । रामले लंका जिते । विभीषणले रामलाई नै राजा बन्न आग्रह गरे । लक्ष्मणले त जोड नै गरे । रामले मानेनन् । विभीषणलाई राजा बनाए ।

भारतमा सन् १९४७ अगस्त १५ पछि सबै नेताहरूले महात्मा गान्धीलाई सरकारको नेतृत्व गर्न आग्रह गरे । गान्धीले मानेनन् । जवाहरलाल नेहरूलाई प्रधानमन्त्री बनाए ।

आफ्नै देशका महान् व्यक्तित्व एवं त्यागी नेता गणेशमान सिंहले पनि राजा वीरेन्द्रले प्रधानमन्त्री पदको अफर गरेकामा अस्वीकार गर्दै कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरेको ऐतिहासिक तथ्य छ । 

राजनीति भनेको जसरी पनि पद प्राप्त गर्नु र सत्तामा पुग्नुमात्र होइन । नेपालका राजनीतिज्ञ नेताहरुले यो कुरा गहिरोसँग मनन गरुन् ।

यदि डा. शेखर कोइरालालाई कांग्रेस संसदीय दलको नेता चयन गरी डा शेखर कोइरालाको नेतृत्वमा सरकार बनाउन सकिन्छ भने अब कांग्रेस सभापतिले त्याग गरी बाटो खोलिदिनु पर्दछ । बाटो खोल्दिनु देउवा दाइ ।

यो त्यागले स्वयं सभापति देउवा, कांग्रेस र देशलाई राम्रो गर्दछ । यो नगर्ने र यसैगरी सत्ता मोहमा रुमलिइरहने हो भने देश ट्रेड मिलको साइकल जस्तो घुमिरहन्छ । हामी अझै अस्तव्यस्त र असफल हुनेछौँ । (त्रिपाठी बेलायतमा इञ्जिनियरिङ पेशामा आबद्ध छन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ