arrow

निर्जीवन बिमकले एकै महिना गरे चार अर्बको व्यापार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
non-life-insurance-next.jpg

काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुले एकै महिना झण्डै ४ अर्बको ब्यापार गरेका छन् । चैत महिनामा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी र चार लघुबीमा कम्पनीले ३ अर्ब ८८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । यो व्यापार चालु आर्थिक वर्षको पहिलो ८ महिनाको औसत व्यापार भन्दा करिब १८ प्रतिशत बढी हो । 

चैत महिनामा ती कम्पनीहरुले करिब तीन लाख नयाँ बीमालेख जारी गरेका छन् । संख्याको हिसाबले जारी नयाँ बीमालेख अघिल्लो ८ महिनामा जारी बीमालेखको मासिक औसत संख्याभन्दा करिब २२ प्रतिशत बढी हो । चैत महिनामा जारी गरिएको नयाँ बीमालेखको बीमाङ्क मात्रै ९ खर्ब १२ अर्ब रुपैयाँ रहेको बीमा प्राधिकरणले जनाएको छ । 

यो अवधिमा संकलित बीमा शुल्कमध्ये मोटर बीमाबापत १ अर्ब ११ करोड रुपैयाँ, सम्पत्ति बीमाबापत ९९ करोड, इञ्जिनियरिङ बीमाबापत ७३ करोड, हवाइ बीमाबापत २४ करोड, कृषि बीमाबापत २० करोड, सामुन्द्रिक बीमाबापत १४ करोड, लघु बीमाबापत ५ करोड र अन्य बीमाबापत ४० करोड रुपैयाँ संकलन भएको प्राधिकरणले जनाएको छ । 

चैत महिनासम्म संकलित बीमा शुल्कमध्ये मोटर बीमाबापत करिब ९ अर्ब २८ करोड रुपैयाँ, सम्पत्ति बीमाबापत ७ अर्ब ४२ करोड, इञ्जिनियरिङ बीमाबापत ४ अर्ब ७५ करोड, हवाइ बीमाबापत १ अर्ब ९७ करोड, कृषि बीमाबापत १ अर्ब ६७ करोड, सामुन्द्रिक बीमाबापत १ अर्ब ४७ करोड, लघु बीमाबापत १७ करोड र अन्य बीमाबापत ३ अर्ब ३८ करोड रुपैयाँ संकलन भएको छ । 

कुन कम्पनीको कति व्यापार ?
९ महिनाको अवधिमा निर्जीवन बीमा व्यवसायमा तीन वटा बीमा कम्पनी प्रतिस्पर्धी देखिएका छन् । यो अवधिमा शिखर इन्स्योरेन्सले ४ अर्ब २२ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ५३ करोड, सिद्धार्थ प्रिमियरले २ अर्ब ८९ करोड, आईजीआई प्रुडेन्सियलले २ अर्ब ६४ करोड, हिमालयन एभरेष्टले २ अर्ब ५४ करोड र नेको इन्स्योरेन्स २ अर्ब ३९ करोड व्यापार गरेका छन् । 

बाँकी कम्पनीहरुमध्ये ६ कम्पनीको ब्यापार १ अर्बभन्दा माथि हुँदा नेशनल इन्स्योरेन्सको ब्यापार मात्रै एक अर्ब भन्दा कमको सीमामा रहेको छ । युनाइटेड अजोडको १ अर्ब ९७ करोड, एनएलजी इन्स्योरेन्सको १ अर्ब ८३ करोड, सानिमा जीआईसीको १ अर्ब ७८ करोड, ओरियन्टलको १ अर्ब ५१ करोड, प्रभु इन्स्योरेन्सको १ अर्ब ३२ करोड, राष्ट्रिय बीमा कम्पनीको १ अर्ब ३० करोड, नेपाल इन्स्योरेन्सको १ अर्ब १४ करोडको व्यापार रहेको प्राधिकरणले जनाएको छ । 

चारवटा माइक्रो इन्स्योरेन्स कम्पनीले भने यो अवधिमा १५ करोड रुपैयाँ बराबरको व्यापार गरेका छन् । अन्य बीमा कम्पनी समेतले चैत महिनासम्म १७ करोडको लघुबीमालेख जारी गरेको प्राधिकरणले जनाएको छ । 

अधिकांश बीमा काठमाडौँ केन्द्रित 

बीमा व्यवसायको विस्तार सन्तोषजनक देखिए पनि अझै पनि यो व्यवसाय काठमाडौं उपत्यकामा मात्रै बढी केन्द्रित देखिएको छ । यो अवधिमा भएको ३० अर्बको बीमाशुल्क संकलनमध्ये १९ अर्ब ७३ करोड रुपैयाँ बागमती प्रदेशमा मात्रै संकलन भएको छ । दोस्रो सर्वाधिक बीमाशुल्क संकलन भएको लुम्बिनीमा २ अर्ब ७२ करोड बीमाशुल्क उठेको छ ।

त्यस्तै कोशीमा २ अर्ब ६५ करोड, मधेसमा १ अर्ब ९९ करोड, गण्डकीमा १ अर्ब ६७ करोड, सुदूरपश्चिममा ७८ करोड र कर्णालीमा ५८ करोड बीमाशुल्क संकलन भएको छ । 

लघु बीमा र कृषि बीमाबाहेक अन्य सबै प्रकारका बीमाको शुल्क बाग्मतीमा ५० प्रतिशत भन्दा धेरै छ । हवाइ बीमा लगभग शतप्रतिशत र इञ्जिनियरिङ ८३ प्रतिशत र सामुन्द्रिक बीमाको ६९ प्रतिशत बीमा बाग्मती प्रदेशबाट भएको छ, जसको अधिकांश हिस्सा काठमाडौंले ओगट्ने बिमकहरुको भनाइ छ । 

भुक्तानी नपाउँदा घट्यो कृषि बीमा

सरकारले कृषि बीमाबापतको रकम भुक्तानी नगर्दा कृषि बीमा गराउनेको संख्या घटेको छ । फागुन महिनासम्म औसत १३ हजारले बीमा गर्दै आएकोमा चैत महिनामा यो संख्या ६ हजारभन्दा तल झरेको हो । एक महिनामा बीमा गर्नेको संख्या मात्रै करिब ५८ प्रतिशतले घटेको देखिएको छ । 

संख्या घटे पनि यो अवधिमा झण्डै २० करोड रुपैयाँ बराबरको कृषि बीमाशुल्क संकलन भएको छ । फागुन महिनासम्म यस्तो औसत बीमाशुल्क संकलन १८ करोड रुपैयाँ रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ