arrow

अधिकारीले एर्दोगानलाई बुझाए ओहोदाको प्रमाणपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
Recep-Tayyip-Erdoğan-adhikari.jpg

काठमाडौँ । टर्किएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति रेसेप तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । 

अङ्कारास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ । श्री अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत हुन् ।

राष्ट्रपति एर्दोगानले राजदूत अधिकारीलाई टर्किएको पनि कार्यभार सम्हालेकामा बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालप्रति शुभकामना व्यक्त गरे । उनले राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका साथै नेपाली जनताको निरन्तर समृद्धिको कामना पनि गरे ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपति एर्दोगानसँग भएको शिष्टाचार भेटमा राजदूत अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट टर्किएका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै टर्किएका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए ।

राजदूत अधिकारीले नेपाल र टर्किएबीचको सम्बन्ध आपसी विश्वास र सहयोगमा आधारित रहेको उल्लेख गर्दै दुवै देशले साझा चासोका विषयमा संयुक्त राष्ट्रसङ्घलगायत अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका बताए । 

साथै उनले टर्किएसँगको सम्बन्ध विस्तारका निम्ति इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ