arrow

सूर्यज्योति लाइफ सफल मर्जरको एक वर्ष पूरा  

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
surya-jyoti-logo-2080.jpg

काठमाडौँ । जीवन बीमा कम्पनीहरुमध्ये पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पूरा गरेको छ । सूर्यज्योति लाइफले  मर्जरको एक वर्षको आफूलाई अझै दरिलो रुपमा उभ्याउन सफल भएको छ । 

एक वर्षको अवधिमा अझै विस्तारित शाखा सञ्जाल, परिस्कृत बीमा योजनाहरु र ग्राहक मैत्री सेवा पस्केर ऐतिहासिक सफलताको बाटोमा लम्किने प्रयास जारी राखेको कम्पनीले जनाएको छ।

मर्जरपछि चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको यो कम्पनीले संयुक्त कारोबार शुरु गरेको एक वर्षको अवधिमा सूर्यज्योतिको जीवन बीमा कोष झण्डै ८ अर्ब रुपैयाँले बढेर ३० अर्ब रुपैयाँ पुगेको छ। यो कम्पनीको कूल लगानी करिब ३५ अर्ब रुपैयाँ रहेको छ। कम्पनीले मंसिर  मसान्तसम्ममा आफ्नो नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ कायम गर्न सफल भएको छ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सूर्यज्योति लाइफले कूल ५२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ। देशभर रहेका १७६ शाखा सञ्जाल र अभिकर्तामार्फत आफ्ना बिमितहरुलाई  उत्कृष्ट  सेवा प्रदान गर्दै कम्पनीले करिब २३ लाख जीवन बीमालेख बिक्री गरिसकेको जनाएको छ । 

जनशक्तिका हिसाबले यो कम्पनी सबैभन्दा ठूलो रोजगारदाता जीवन बीमकका रुपमासमेत उभिएको छ। कम्पनीमा हाल ५७९ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् भने देशैभरि करिब ९४ हजार अभिकर्ता सूर्यज्योति लाइफमा आबद्ध छन् ।

बजारको आवश्यकता र नविनतम सोचअनुसार बीमा योजनाहरु ल्याउने रणनीति अन्तर्गत यो जीवन बीमा कम्पनीले हालै कम प्रिमियममा नै ठूलो बीमा गर्न सकिने र ७० वर्षको उमेरमा तिरेको सम्पूर्ण रकम फिर्ता हुने साथै रक्षावरण आजीवन रही रहने आजीवन म्यादी बीमा ‘सही प्लान’बीमा योजना सार्वजनिक गरिसकेको छ ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले चुक्ता पूँजी वृद्धिको माध्यमबाट जीवन बीमा कम्पनीहरुबीच मर्जरलाई प्रोत्साहन गर्ने रणनीति बनाएपछि सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले २०७९ असार १२ गते मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए । 

बीमाङ्की मूल्याकन, विस्तृत लेखा परीक्षण र साधारण सभापछि यी दुवै कम्पनीले  मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गर्दै २०७९ पुस ७  गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ भएको थियो । 

नेपालमै ISO 9001:2015 गुणस्तर चिन्ह प्राप्त गर्ने  पहिलो सूर्यज्योति लाइफ बन्न सफल भएको पनि कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले बिमितहरुले कम्पनीप्रति दिएको गाढा विश्वास,कम्पनीलाई यो उचाइमा पुर्याउन अविरल साथ र अथक मेहनत गर्ने अभिकर्ताहरु, अहोरात्र सेवाका लागि अग्रपन्थीमा  रहने कर्मचारीहरु, हरेक पाइलाहरुमा मार्गनिर्देश गर्ने नियमनकारी निकाय बीमा प्राधिकरण,सदैव आफूलाई सत्मार्गको बाटो देखाउने कम्पनीका सञ्चालकहरु तथा  कम्पनीमा आवद्ध  सेयरधनीहरुलगायत सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन व्यक्त गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ