काठमाडौं । संगठनात्मक विषयमा निर्णय लिन बसेको माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठक आइतबार फेरि बस्ने गरी स्थगित भएको छ ।
शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको संगठनात्मक ढाँचा र व्यवस्थाका विषयमा छलफल भएको पार्टी प्रवक्ता पम्फा भूषालले बताइन् । एजेण्डाबारे छलफल जारी रहेकाले बैठक आइतबार पुन बस्ने गरी स्थगित भएको बताइएको छ । बैठक आइतबार ३ बजे फेरि बस्ने छ ।
पार्टी अध्यक्ष दाहाल निकट एक नेताका अनुसार बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको आकार घटाउने विषय उठेको छ । यद्यपि, उनले महाधिवेशन अघि वा पछि घटाउने भन्ने विषय छलफमै रहेको बताए । उनले भने, ‘छलफलमा लिखित प्रस्ताव पेश भएको थिएन । सदस्यहरुले संगठनको आकार र व्यवस्थाबारे थुप्रै विषय उठाएका छन् । टुंगो लागेको छैन । नटुंगिकन यसै हुन्न भन्न सकिँदैन ।’
उनका अनुसार २ हजार ५ सय सदस्यीय समितिलाई व्यवस्थापन गर्न कठिन भएपछि समिति सदस्यको संख्या कटौती गर्ने विषय उठेको हो ।
विभिन्न १० शक्ति एकै ठाउँमा आएपछि सबैलाई समायोजन गर्ने क्रममा महाधिवेशन आयोजक समिति भद्दा भएको माओवादी नेताहरुले स्वीकारेका छन् । केन्द्रको महाधिवेशन आयोजक समिति जम्बो भएकाले सो समितिको बैठक समेत बस्न सकेको छैन । नेपाली कांग्रेस र एमाले प्रादेशिक संरचना अनुसार अघि बढिसकेको अवस्थामा माओवादीलाई महाधिवेशन गर्नै सकस भएको छ ।