arrow

कञ्चनपुरमा कोरोनाको महामारी बढ्दै

logo
ईश्वर बडू,
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
gadda-chuki-corona.jpg

कञ्चनपुर । कञ्चनपुरमा कोरोना महामारीले दैनिक मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । बिहीबार महाकाली अस्पतालका उपचारार्थ तीन जनाको मृत्यु भएको थियो, भने शुक्रवार थप दुई जनाको मृत्यु भएको छ । दुई दिनमा एक महिला सहित ५ जनाको मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ । मृत्यु हुने बिरामीहरू प्रायः श्वासप्रश्वास, रुघाखोकी र ज्वरोको लक्षण देखिएको थियो ।

 भीमदत्त नगरपालिका १८ महेन्द्रनगरका स्थानीय समेत रहेका ४५ वर्षका लेखापढी कानुन व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष र शुक्लाफाँटा नगरपालिका ५ बन समितिका ५५ वर्षीय पूर्व प्रहरीको शुक्रवार मृत्यु भएको हो ।     
         
 महाकाली अस्पतालका चिकित्सक एव स्वास्थ्यकर्मीमा कोरोना देखिएसँगै उपचारमा समस्या भइरहेको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले जनशक्ति र उपकरण अभाव हुँदा सङ्क्रमित बिरामीलाई उपचार गर्न समस्या भइरहेको बताए ।

 नागरिक समाजले कोरोना रोकथामका लागि सरकारको पूर्व तयारी नभएको बताएका छन् । कोरोना रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि एक साताका लागि लकडाउन गरेको छ । प्रशासनले नागरिकलाई धैर्यताका साथ उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ । गत वर्ष कोरोना रोकथामका लागि सबै पक्ष लागे पनि यस वर्ष कतैबाट प्रभावकारी कदम चालेका छैनन् ।  

 सीमा क्षेत्रका होल्डिङ्ग सेन्टर स्थापना गरिनु पर्नेमा जोड
सीमा क्षेत्रका होल्डिङ्ग सेन्टर स्थापना गरिनु पर्नेमा स्थानीयले जोड दिएका छन्। सीमा क्षेत्रका होल्डिङ्ग सेन्टर स्थापना नगरिनुले समुदायमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भीनपा ५ सरोज ठकुराठी बताउँछन् । उनले सरकारले कोरोना महामारी रोकथाम एव नियन्त्रणका लागि पूर्व तयारी नगर्दा सामान्य बिरामीमा कोरोना सङ्क्रमित भई मृत्यु भएको बताए । उनले भने यस्तो भयावह स्थितिमा पनि अस्पतालमा विशेषज्ञ डाक्टरको व्यवस्थापन गर्न नसक्नु सरकारको लापरबाही हो ।’   

 कञ्चनपुरका कोरोना रोकथामका लागि प्रभावकारी पहल नहुँदा नागरिकले अकालमै ज्यान गुमाई रहेका छन् । भारतबाट आएका सबैको कोरोना परीक्षण नगर्ने र होल्डीङ्ग सेन्टरमा समेत नराख्ने प्रवृत्तिका कारण गाउँ गाउँमा कोरोना महामारी फैलिरहेको छ । नेपालीले विदेशमा समेत ज्यान गुमाई रहेका छन् । सरकारले जनताको स्वास्थ्यमा विशेष ध्यान नदिनु र यस्तो अवस्था सृजना हुँदा समेत नागरिक सचेत नहुनुले सङ्क्रमणले विकराल रूप लिन सक्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ