arrow

भारतले दियो ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
india-nepal-help.jpg

काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामूलक संघ संस्थाहरुलाई ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । 

काठमाडौंस्थित भारतीय दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ संस्थाहरुलाई बिहीबार ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको हो । 

यी संघ संस्थाहरु नेपालका विभिन्न जिल्लामा छरिएर रहेका छन् । ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय दूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।

यी एम्बुलेन्स र स्कुल बसको हस्तान्तरण हाल सञ्चालन भइरहेको ‘इन्डिया एट ७५’ उत्सवको एक हिस्साको रुपमा रहेको पनि दूतावासले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

सन् १९९४ यता भारतीय दूतावासले अहिलेसम्म झण्डै ८६२ वटा एम्बुलेन्स नेपाललाई प्रदान गरिसकेको छ । यो वर्ष दूतावासले ‘एडभान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमल लाइफ सपोर्ट गरी तीन किसिमका एम्बुलेन्स प्रदान गरेको छ । 

यी एम्बुलेन्सहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप निर्माण गरिएका पनि भारतीय दूतावासले जानकारी दिएको छ । दूतावासले बिहीबार प्रदान गरेका ६ समेत गरी हालसम्म १६६ वटा स्कूल बस उपहारस्वरुप उपलब्ध गराइसकेको जनाएको छ । 

स्वास्थ्य सेवा त्यसमा पनि विशेष गरी आपतकालीन स्वास्थ्य सेवा र विद्यार्थीहरुको विद्यालयसम्मको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको समेत दूतावासले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ