arrow

नाकामा चेकजाँच फितलो, कोरोनाको दोस्रो लहर तीव्र, सुरक्षाकर्मी नै देखाउँछन् चोर बाटो 

logo
युबराज रेग्मी,
प्रकाशित २०७८ वैशाख ६ सोमबार
corona-help-desk-jhapa.jpg

झापा । कोरोना भाइरस महामारीको दोस्रो लहरले फेरि विश्व  भयभित हुँदा नेपाल पनि आक्रान्त भइरहेको छ । पूर्वी जिल्ला झापालगायत देशभर कोरोना तीव्र गतिमा बढ्दै गएको बेला झापाकै सीमावर्ती दक्षिण पश्चिम गाउँपालिका गौरीगञ्जका नाकाहरुमा आवस्यक स्वास्थ्य सावधानी र चेक जाँच कार्य  फितलो देखिएको छ । 

विशेषगरी भारतमा कोरोनाको संक्रमण उच्च गतिमा पुग्दा दैनिक तीन लाखको हाराहारीमा संक्रमित थपिएकामात्र छैनन् संक्रमितहरु नै ओहोर दोहोर गरिरहँदा नेपालमा यसको अवस्था झन् भयावह बन्ने देखिएको छ । 

गौरीगञ्ज गाउँपालिकाको  फत्तेपुर नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरी वारीपारी आवतजावत गर्नेहरुको सामान्य ज्वरो नाप जाँच गर्ने गरिएता पनि फत्तेपुर नाका बाहेक अन्य नाकाहरुबाट मानिसहरु निर्वाध रुपमा नेपाल र भारत आवतजावत गरिरहेको पाइएको छ ।

पालिका अन्तर्गत जोडिने  अन्य नाकाहरुमा बैरिया, डाकुपाडा लगायतका केही सीमावर्ती क्षेत्रका सडकहरुमा सुरक्षाकर्मी परिचालन गरिए पनि आवतजावतका क्रममा  स्वास्थ्य जाँच नगरिँदा नेपाल भारत सीमावर्ती पालिका गौरीगञ्ज क्षेत्रमा जोखिम बढ्दै गएको छ । 

मुख्य सडकहरुमा ढाट लगाएर वारीपारी आवतजावत गर्न रोक लगाइए पनि  सुरक्षाकर्मीहरुले आफैं चोर बाटो देखाइदिने गरेको  स्थानीयहरुले बताएका छन् ।

फतेपुर, बैरिया र डाकुपाडालगायत भारतबाट गौरीगञ्ज गाउँपालिकामा प्रवेश गर्ने  १७ वटा साना ठूला बाटाहरु रहेको स्थानीय संचारकर्मी मदन राजवंशीले बताए  । 

तीमध्ये कतिपय बाटाहरुमा  सुरक्षाकर्मीकोसमेत नियमित निगरानी नरहेको उनको गुनासो छ । स्वास्थ्यकर्मीहरुका अनुसार कोरोना भाइरसको युके भेरियन्ट प्रजातिका भाइरस तीव्र गतिमा फैलिन सक्ने क्षमता राख्ने हुनाले  ‌यसअघिका कमजोरीहरुबाट शिक्षा लिँदै विशेष सतर्कता नअपनाए कोरोना भाइरसको प्रकोप  नियन्त्रण बाहिर जान सक्ने स्वास्थ जानकारहरु बताउँछ्न् । 
 
नाकाहरु मात्र नभई  गौरीगञ्ज पालिकाका सडक, हाटबजार तथा कार्यालय लगायतका स्थानहरुमा पनि  कुनै  स्वास्थ्य सावधानी अपनाइएको पाइँदैन । 

मुलुक संघीयतामा प्रबेस गरि सके पश्चात्  स्थानीय सरकारहरुको अधिकार पाएका पालिकाहरुमा पनि  जोखिम नियन्त्रण गर्न आवस्यक स्वास्थ्य सतर्कता नअपनाउनु गैर–जिम्मेवारपूर्ण देखिन्छ ।

स्वास्थ्य सेवाका निमित्त  प्रत्येक आर्थिक वर्ष लाखौं बजेट  खर्चिदै आउँदा  जोखिम नियन्त्रणका लागि न्यूनतम सावधानी नअपनाउनु  गैर–जिम्मेवार कार्य हुन आउँछ ।

कार्यालयमा पनि स्वास्थ्य मापदण्ड पालका गरेको पाइँदैन । कर्मचारीले नै मास्क लगाउँदैनन् । 

 यस सम्बन्धी जिज्ञासा राख्दा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले  गत वर्षको तुलनामा यस वर्ष कमजोरी भएको स्वीकार्दै छिट्टै पालिकाको  सीसीएमसी बैठक बसेर आवश्यक सावधानी अपनाइने  बताए । 

केही दिनयता गौरीगञ्जका ६ वटै वडाहरुमा राष्ट्रिय परिचयपत्रका निम्ति तथ्यांक संकलन टोली सञ्चालन गरिएको छ । उक्त टोली रहेका  केन्द्रहरुमा समेत सेवाग्राहीहरुको अनियन्त्रित भिड हुने गरेको देखिन्छ  । 

बैंक तथा वित्तीय संस्थाहरुमा समेत सामाजिक सुरक्षा भत्ता लिन आउने ज्येष्ठ नागरिकहरुका लागि सुरक्षाको कुनै मापदण्ड पालना गराइएको छैन ।

साथै पालिकाभित्र लाग्ने  हाटबजारहरु पनि  निर्वाध रुपमा लाग्दै आएका छ्न्  । 

मास्कसमेत नलगाएको बारेमा जिज्ञासा राख्दा गाउँपालिकाका अध्यक्ष  बाबुराजा श्रेष्ठले तत्काललाई फतेपुर नाकामा हेल्प डेस्क राखेर वारीपारी गर्नेहरुलाई चेकजाँच गरिरहेको  बताउँदै चाँडै सीसीएमसीको बैठक बसेर केही सावधानीका उपाय अबलम्बन गरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ