arrow

पाटनको कुमारी छेँ र कुमारी निवासको पुनर्निर्माणका लागि भारतीय राजदूतले गरे शिलान्यास

सांस्कृतिक सम्पदाको संरक्षण र पुर्नस्थापनाका लागि नेपाल सरकारसँग जोडिन पाएकोमा भारत सरकारले मान्यो गौरव

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
india-nepal-kumari-hall-.jpg

ललितपुर । ललितपुरको पाटनस्थित कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माणका लागि नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिलान्यास गरेका छन् । शिलान्यास समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पूर्व संस्कृति मन्त्री तथा ललितपुरका पूर्व मेयर बुद्घिराज बज्राचार्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परियोजना निर्देशक श्याम किशोर सिंह, कुमारी छेँ उपभोक्ता समितिका सदस्य एवम् समुदाय सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा भारतीय राजदूतावासको पुनर्निर्माण एवम् विकास प्रभागका अधिकारीहरुको पनि सहभागीता थियो ।

नेपालका आठ जिल्लामा सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुर्नस्थापना तथा पुनर्निर्माणका लागि भारत सरकारले ५ अर्ब ८ करोड आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाएको छ । सोही प्रतिबद्घता अनुरुप पुनर्निर्माण हुन लागेका २८ वटा सांस्कृतिक सम्पदा मध्येको कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माण कार्य दोस्रो परियोजना हो । नेपाल सरकारले पहिचान गरेका यी २८ वटा परियोजनाहरुको कार्यान्वयन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले गरिरहेको छ ।

२०७२ सालको भूकम्पले क्षति पुर्याएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन तथा पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुरुप कुमारी छेँ र कुमारी निवासको संरक्षण गरिने भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पुनर्निर्माण कार्यमा पुरानो भवनको पुर्नस्थापना गरिनुका साथै भित्ते चित्रको संरक्षण पनि गरिने बताइएको छI नवनिर्मित भवन कुमारी देवीको पूजा अर्चना गर्ने भवनको रुपमा काम रहने बताइएको छ । साथै हाल कुमारी छेँ भएको स्थानको पूर्वी दिशाको खाली जग्गामा नयाँ भवनको निर्माण गरिने ललितपुर उपमहानगरपालिकाले जनाएको छ । नेपाल सरकारले स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन अनुरुप पुर्नस्थापना र विकास कार्यलाई अघि बढाउनका निमित्त आवश्यक पर्ने प्राविधिक सहयोग भने भारतीय राष्ट्रिय कला तथा सांस्कृतिक सम्पदा कोषले गर्ने दूतावासले जनाएको छ ।

जीवित देवी कुमारीको पूजा काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीयवासीले गर्दछन् । कुमारी संस्कृति भन्नाले काठमाडौं उपत्यकाका रहेका नेवार समुदायको केन्द्रीय र अद्वितीय परम्परा हो । अब बन्ने कुमारी निवासमा परम्परागत वास्तुकलालाई समेटिने बताइएको छ । नेवार समुदायको सामाजिक, धार्मिक तथा सांस्कृतिक जीवनमा कुमारी देवीको महत्वलाई यी परम्परागत विशेषताहरुले प्रतिकात्मक शैलीमा प्रतिनिधित्व गरेका छन् ।

जीवित सांस्कृतिक सम्पदाको गौरवगाथा एवम् परम्पराको जर्गेना गर्न उदेश्यले नेपालमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र पुर्नस्थापनाका लागि नेपाल सरकारसँग जोडिन पाएकोमा भारत सरकारले गौरवान्वित महसुस गरिरहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ