arrow

पूर्व समाजवादी पार्टीका सांसदहरूको छुट्टै बैठक

जसपा संसदीय दलको पहिलो बैठक मंगलवार

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
upendra-yadav.jpg

काठमाडौं। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबाट बनेको जनता समाजवादी पार्टी (जसपा)ले मङ्गलवार पार्टी एकतापछि पहिलो पटक संसदीय दलको बैठक बोलाएको अवस्थामा अहिले पूर्व समाजवादीतर्फबाट निर्वाचित सांसदहरू छुट्टै बैठक बसिरहेका छन् । 

सर्वोच्च अदालतको आइतबारको फैसलाबाट सत्तारुढ दल नेकपा पूर्ववत् अवस्थामा नै पुगेर एमाले र माओवादी केन्द्रमा परिणत भएपछि पूर्व समाजवादी पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित भएका सांसदहरूको अहिले छुट्टै बैठक बसिरहेको हो । 

पार्टी एकीकरणपछि जसपाका अध्यक्ष बनेका उपेन्द्र यादवले आफूहरू छलफलमा रहेको जानकारी दिए ।पूर्व राजपाकी महासचिव रहेकी नेतृ चन्दा चौधरीले भने पूर्व समाजवादीहरूको बैठकमा आफूहरू नरहेको जानकारी दिइन् । 

‘पार्टी एकतापछि बनेको जसपाको भोलि संसदीय दलको बैठक छ, अहिले उहाँहरू छुट्टै बसिरहनु भएको रहेछ, किन बस्नु भयो थाहा छैन, जसपाको आधिकारिक दलको बैठक चाहिँ भोलि हो,’ नेतृ चौधरीले हाम्राकुरासँग भनिन् । 

तर यादवले भने छुट्टै बैठक नबसेको बताए । ‘त्यस्तो होइन, छुटै बसेको होइन, छलफल मात्रै हो,’ यादवले भने । 

दुई दल मिलेर जसपा बनेपछि हालसम्म संसदीय दलको संयुक्त बैठक बसेको छैन । दुई पार्टीबीच गत ११ बैशाख मा पार्टी एकीकरण भएको थियो । 

अदालतले नेकपालाई पूर्ववत् अवस्थामा पुर्‍याइदिएपछि अहिले बसिरहेको पूर्व समाजवादीको बैठकलाई सबैतर्फबाट चासोका साथ हेरिएको छ । यो बैठक आगामी सत्ता समीकरणको आकांक्षासँग समेत जोडिएको हुन सक्ने अनुमान हुन थालेको छ ।

‘यो बैठक नेकपा पूर्ववत् अवस्थामा पुगेपछिको सम्भावित जोड घटाउका लागि हुन सक्छ, यसमा सत्ताको आकांक्षा पनि जोडिएको हुन सक्छ, तर जसपाको कुन पक्षसँग त्यो आकांक्षा बढी छ भन्ने चाहिँ खुल्दै जाँदा,’ जसपाकै एक नेताले भने । 

जसपाले पछिल्लो राजनीतिक अवस्था र संसद्मा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न भन्दै संसदीय दलको बैठक बोलाएको हो । 

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई तत्कालीन माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा स्वतः अल्पमतमा पर्ने भएकाले समेत यो समयमा हुने छुट्टाछुट्टै बैठकलाई महत्वका साथ हेरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ