arrow

भारतीय सहयोगमा दक्षिणकालीको चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
indian-help-school.jpg

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृत विभागका प्रमुख नवीन कुमारले काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण कार्यका लागि संयुक्त रुपमा भूमि पूजन तथा शिलान्यास गरेका छन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि एवम् स्थानीय समुदाय सदस्यहरुको उपस्थिति थियो । 

शिक्षाको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण हुने यो ६६ औं विद्यालय रहेको भारतीय दूतावासले जनाएको छ । ६ करोड ८५ लाख रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुनेछ । नवनिर्मित संरचनामा दुइवटा ब्लकहरु रहनेछन् जसमा १३ वटा कक्षा कोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालय, साथै प्रत्येक तल्लामा छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना रहनेछन् ।

विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्ने बताइएको छ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ।

नेपालका ८ जिल्लामा कूल ७१ शैक्षिक संस्थाहरुको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर अर्थात ५ अर्व भन्दा बढी आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । यो बाहेक स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २० करोड डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता पनि गरिसकेको छ । 

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्स्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माणका लागि भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ