arrow

आफैंलाई प्रधानमन्त्री बनाएको संसद विघटन गर्ने ओली भष्मासुर हुन : रामचन्द्र पौडेल

‘कम्युनिष्टबाट संविधान सुरक्षित छैन’

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
poudel10.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफैंलाई प्रधानमन्त्री बनाएको संसदलाई भष्म गर्ने केपी शर्मा ओली भष्मासुर भएको बताएका छन ।  पार्टीले घोषणा गरेको संसद विघटन बिरुद्धको विरोध प्रदर्शन अन्तर्गत बिहिबार काठमाडौं १६ ले गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्री ओली भष्मासुर भएको बताए ।

‘कम्युनिष्टलाई जनताले आर्शिवाद दिएर झण्डै दुई तिहाइ मत दिएर विश्वास गरे, त्यही मतबाट बनेको संसदबाट केपी ओली प्रधानमन्त्री बने, तर उनले आफैंलाई प्रधानमन्त्री बनाएको संसदलाई भष्म गरे, प्रधानमन्त्री ओली भष्मासुर रहेछन,’ नेता पौडेलले सम्बोधन गर्दै भने ।  

उनले कम्युनिष्टहरुको हातबाट देश, लोकतन्त्र, विकास र संविधान सुरक्षित छैन भनेर विगतदेखि नै भन्दै आइरहेको र त्यो ओलीले प्रमाणित गरेको समेत बताए । ‘कम्युनिष्टको हातबाट देश सुरक्षित छैन, लोकतन्त्र सुरक्षित छैन, विकास सुरक्षित छैन, संविधान पनि सुरक्षित छैन, यिनीहरु समस्या जन्माउन सक्छन, निकास दिन सक्दैनन, वितण्डा मच्चाउन सक्छन, निकास दिन सक्दैनन,’ पौडेलले भने ।

उनले संविधानमाथि र जनतामाथि घात गरेको र जनताको मतमाथि लात हानेको बताए ।  संविधानले कतै पनि प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको र प्रतिनिधि सभाले अर्को सरकार दिन नसकेको अवस्थामा मात्रै संसद विघटन हुने बताए ।

‘संसदले सरकार दिन नसके मात्र संसद विघटन हुन्छ, सरकार बनाउन सक्ने अवस्थासम्म संसद विघटन गर्ने व्यवस्था संविधानमा छैन, हामीले नै सहमतीबाट संविधान बनाएको हो, केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरे,’ पौडेलले थपे ।  उनले प्रतिनिधि सभा पुर्नस्थापना हुँदैन भनेर कार्यकारी प्रधानमन्त्रीले बोल्दै हिड्न नपाउने दाबी गरे । उनले अदालतले संविधानको अक्षर अक्षर हेरेर निणर्य लिने र जनता र लोकतन्त्रलाई न्याय दिने बताए । अदालतले धेरै पटक जनतालाई न्याए दिएकाले त्यो विश्वास कायम रहेको समेत उनले भनेका छन ।  नेता पौडेलले देशलाई अफगानिस्तान जस्तो बनाउँन दुनियाँको शक्ति चलखेलमा लागेको भन्दै कसैले पनि नेपालको हित विपरित गर्ने तर्फ नसोच्न समेत चेतावनी दिए ।

कार्यक्रममा कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जनताको संघर्षबाट प्राप्त अधिकारलाई सरकारले निस्तेज गर्दै सनक र दम्भका भरमा अघि बढेको र त्यसका बिरुद्ध शशक्त रुपमा उत्रने बताए । काठमाडौं १६ का वडा अध्यक्ष मुकुन्द रिजालले लोकतन्त्रलाई बचाउन कांग्रेस बामपन्थिलाई ढालेर अघि बढ्ने बताए । उनले जनताको अदालतले गरेको निणर्य नै लोकतन्त्रमा बलियो हुने र संसद विघटनमा पनि जनअदालतले त्यो सन्देश दिइसकेको बताए ।

संसद विघटनका बिरुद्ध कांग्रेसले १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, २५ पुसमा ३३० प्रदेश निर्वाचन क्षत्रे, ३ माघमा ७५३ पालिका गर्दै ८ माघ अर्थात बिहिबार ६ हजार ७ सय ४३ वडाहरुमा संसद विघटनका बिरुद्ध विरोध कार्यक्रम गरेको हो । कांग्रेसले १३ माघमा बस्ने केन्द्रीय समिति बैठकबाट थप आन्दोलनका कार्यक्रम ल्याउने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ