arrow

सुर्यास्तसँगै सञ्चारविहीन रुपालबासी

logo
राम धामी,
प्रकाशित २०७७ माघ ५ सोमबार
rupalbasi-ddl.jpg

डडेल्धुरा । डडेल्धुरा जिल्लाको विकट मानिने भागेश्वर गाउँपालिकाको रुपाल क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नियमित नहुँदा स्थानीयलाई सास्ती भएको छ । भागेश्वर गाउँपालिकाको वडा नम्वर १ र २ का बस्तीहरुमा सुर्यास्तसंगै नेपाल टेलिकमको मोबाईल सेवासमेत बन्द हुने गरेको छ ।

रुपाल क्षेत्रका आधा दर्जन गाउँमा सुर्य अस्ताएसंगै नेपाल टेलिकमको नेटवर्क नियमित नहुँदा स्थानीय बासिन्दा  सञ्चार सुविधावाट बञ्चित हुने गरेका छन । भागेश्वर गाँउपालिका वडा १ को बुढाकोटमा रहेको नेपाल टेलिकमको टावरमा रहेको सोलार व्याट्रीमा व्याकअप गर्ने क्षमता नभएकाले घाम नलागेपछि भागेश्वर– १ का वयलपाटा, लड्देउ, पिडासाउ, पनिउट र वडा–२ का रुईनपाटा, नौतडी, बिस्तडी लगायत एक दर्जन बढी बस्तीका स्थानीय नेपाल टेलिकमको सेवाबाट बञ्चित हुने गरेको स्थानीय अगुवा डम्बर जोशीले गुनासो गरे ।  

घाम नलागेको समयमा दिनमा र सुर्य अस्ताएपछि रातीको समयमा वडा नम्वर १ र २ का एकदर्जन बढी गाउँका स्थानीय आफ्न्तसंग सम्पर्क गर्नुका साथै रातीको समयमा कोहि विरामी भएमा वा अन्य कुनै आपतकालिन काम परेमा सञ्चार सुविधाबाट बञ्चित हुनु परेको स्थानीय भिमबहादुर जैसीले बताए । सुर्यास्तसँगै सिँगो रुपाल क्षेत्र सञ्चारविहीन हुने गरेकोले रातदिन टेलिफोन सेवा सुचारु गराउन पटक पटक आग्रह गर्दा पनि सम्बन्धित निकायहरुले कुनै सुनवाई नगरेको उनको आरोप छ ।

रुपाल क्षेत्रमा नेपाल टेलिकमको मोबाईल सेवा सुचारु भएको लामो समय भईसक्दा पनि टावरमा बढी क्षमताको सोलार जडान गर्न नसकिदाँ आफुहरुले सञ्चार सुविधाबाट बञ्चित हुनु परेको अर्का स्थानीय दिलबहादुर ठकुराठीले बताए । दिनभर घाम नलागेको दिन दिउसै सञ्चारविहीन बन्नुपर्ने अवस्था रहेको उनको गुनासो छ ।

सुर्य अस्ताएसंगै नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने भएपछि यहाँका स्थानीय एनसेल र भारतीय मोबाईल सिम प्रयोग गरेर सञ्चार कार्य गर्न बाध्य भएकोे स्थानीय बताउछन । नेपाल टेलिकमको टावरमा रहेको सोलारको क्षमता कम भएकाले रातीको समयमा टावरले काम छोड्दा नेटवर्क नहुने समस्या भएको र चाडै सबै टावरहरुमा विद्युतीकरण गर्ने योजना रहेको नेपाल टेलिकम डडेल्धुरा कार्यालयका प्रमुख प्रकाशराज भट्टले बताए ।

उनले विद्युत सेवाको पहुँच नपुगेका बस्तीहरुमा रहेका टावरहरुमा यस्तो समस्या रहेको स्पष्ट पारे । विद्युत सेवा पुग्न नसकेका क्षेत्रहरुमा रहेका टेलिकमका टावरहरुमा यस्तै समस्या रहेको र पटक पटक स्थानीय बासिन्दाहरुबाट गुनासो आउने गरेको भए पनि टेलिकमका टावरहरुसँग विद्युतको पहुँच पुर्‍याउनु वाहेक खासै विकल्प नभएको नेपाल टेलिकम डडेल्धुराले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ