arrow

संगत अनुसारको फल

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
sivapuri-baba.jpg

गौरीघाट । श्री शिवपुरीबाबा सँग एकजना विदेशीले प्रश्न गरेका थिए । उनको प्रश्न यस प्रकार थियो, प्रभु, हामी रहने बस्ने ठाउं, वरपरका वातावरण, व्यक्तिको विचार, व्यवहार, संगत आदिले हामीमा प्रभाव पार्छ जस्तो लाग्छ नि ? के यसो हुने हो त ?

श्रीबाबाको उनलाई जवाफ थियो, हो, ठीक हो । यस्ता कुराहरू फूलबाट निस्कने बास्ना जस्तै हुन् । तपाईं फूलको बास्ना थाहा पाउन सक्नुहुन्छ तर देख्न भने सक्नु हुन्न । त्यस्तै तपाईंको वरपरका वातावरण, मानिसका विचार, व्यवहार आदिले तपाईंलाई नदेखिने गरी असर त पार्छ नै । त्यसैले होला, मान्यजन, महापुरुषहरू सत्संगको महिमाको वर्णन गर्न कहिल्ये थाक्दैनन् । 

यसै सिलसिलामा एउटा व्याधाबारे संकलित प्रसंग मिल्दो जुल्दो देखिन्छ । कुनै शहरमा एउटा व्याधा थियो । उसको काम नै जनावरहरूको शिकार गरेर जीविका चलाउन र परिवार पाल्नु थियो । उसले कसैसंग ऋण लिएको थियो तर तिर्न सकेन । एकदिन साहुले उसलाई शिवमन्दिरमा लगेर थुनिदियो । संयोगवश त्यो दिन फागुन कृष्ण पक्षको त्रयोदशीको तिथी परेको रहेछ । त्यहां उसले भोलिपल्ट शिवरात्रीको दिन परेको प्रसंग सुनेको थियो । एक रात मन्दिरमा बसेपछि साहुले उसलाई कवुल गराएर ऋण तीर्ने भाखा गरेर छोडिदियो ।

व्याधाको काम त चालु हुने नै भयो । ऊ धनुष, वांण लिएर शिकार खेल्न निस्क्यो, तर कुनै पनि जनावर उसले पाउन सकेन । ऊ दिक्क भएर एउटा वेलको रुखमा चढ्यो र वेलको पत्ता टिप्दै तल फाल्न लाग्यो । संयोगवश उसले फालेको पत्ता शिवलिंगमा पर्न गयो । एउटा अचम्म, उसले एउटी गर्भवती मृगिणी वेलको रुख नजिकैको तलाउमा पानी पिउन जान लागेको देख्यो । ऊ दंग पर्‍यो र बाण चलाउन ठीक पर्‍यो । त्यो देखेर उनले भनी, म अहिले गर्भवती छु, बच्चा जन्मेपछि उसको बाबुलाई सुम्पेर म तिम्रो आहार बन्न आउंछु भनी । उसको यस्तो कुरा सुनेपछि शिवजीको महिमा सुनेको त्यो व्याधाको मन पग्ल्यो र उसलाई वाण प्रहार गरेन ।
 
आधा रात भएपछि उसले अर्को मृगिणी देख्यो र उसलाई पनि मार्न धनुष उठायो । आफूलाई मार्न लागेको थाहा पाएर उसले भनी, म अहिले रजश्वला भएकी छु, म पतिलाई भेट गर्न जान लागेकी छु, यदि तिमीले मलाई मार्‍यौ भने मेरो मनोकामना पूरा हुंदैन त्यसैले पतिलाई भेट गरेर म भोली बिहान तिमीकहां आउंछु भनि । व्याधाले उसलाई पनि छोडिदियो । 

बिहान हुनै लागेको थियो, उसले फेरि एउटा जवान मृग देख्यो । उसलाई पनि मार्न लाग्दा उसले पनि “हेर व्याधा, मलाई मेरी प्रेयसीहरूले खोजि रहेका होलान्, म मरेपछि मृगिणीहरूले तिमीलाई गरेको बाचा पुर्‍याउन पनि नसक्लान्, त्यसैले मलाई नमार, म पछि सबै बन्दोवस्त मिलाउंछु भन्यो । व्याधाले उसलाई पनि छोडिदियो । 

केही समयपछि ती चारै पशुहरू उसको सन्मुखमा आएर उभिए । शिवरात्रीको व्रतको प्रभावले व्याधाको मनोवृत्ति वदली हाल्यो । उसले सबैलाई छोडिदियो । व्याधाको यस्तो स्थिति देखेर श्रीशिवजीले उसलाई आफ्नो लोकमा स्थान दिनुभयो ।

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ