चन्द्रागिरी नगरपालिकाद्धारा जडित ६७ वटा सीसी क्यामेरा प्रहरीलाई हस्तान्तरण
प्रकाशित २०७७ मंसिर १३ शनिबार
980
Shares
काठमाडौं। चन्द्रागिरी नगरपालिकाले नागढुंगा–कलंकी सडकखण्डमा जडान गरिएका ६७ वटा सीसी क्यामरा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ। नगरपालिकाले १ करोड लगानीमा बिहिबार जडान सम्पन्न गरिएका ६७ वटा उच्च प्रविधिका सीसी क्यामराको शुक्रबार उद्घाटन गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआइजी विश्वराज पोखरेललाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा डीआइजी पोखरेलले उपत्यका प्रवेश गर्ने मुख्य नाकामा शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न र ट्राफिक नियमको उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन सीसी क्यामेराले सहयोग पुग्ने बताए।
सो क्रममा नगरपालिकाका प्रमुख गिरीले काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारका रुपमा रहेको नाढुंगाबाट कलंकीसम्मको सडकखण्डमा सीसी क्यामेरा जडान गरिएको र त्यसले सवारी दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
नगरपालिकाको वडा नं २ नागढुंगा देखि वडा नं १५ कलंकीसम्म राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको जनाएको छ। सीसी क्यामेराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहत हुनेछ।