arrow

दुईपटक उद्धेगबेला भएको यस्तो हुनेछ आइतबारको दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ असोज १८ आइतबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ आश्विन १८ गते आइतबार, इस्वीसंवत अक्टुबर ४ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार अधिक आश्विनकृष्ण पक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज अधिक आश्विनकृष्णको तृतीया तिथि रहनेछ । आज अश्विनी नक्षत्र, विष्कुम्भादि योगमा हर्षण, करणमा वणिज आनन्दादि योगमा आनन्द रहनेछ । सूर्य कन्या राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान २९ घटि २६ पलाको रहनेछ । 

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५८ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ४५ मिनेटमा हुनेछ । 
मलमास चलिरहेकाले धार्मिक कर्म, नयाँ र महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला । यदि तपाइँ नवविवाहित महिला हो भने यो मलमास बार्नै पर्दछ । 

साथै हालसम्म एक पटक पनि मलमास नबारेमा महिलाले पनि आफ्नो कर्मघर छोड्नै पर्छ भन्ने मान्यता छ । यो मलमासमा श्रीमान श्रीमती संगै बस्न नहुने र संगै बसेर कुनै जाय जन्म अर्थात सन्तान जन्मिएमा उक्त सन्तान रोगी हुने र आयु पनि छोटो हुने समुद्रशास्त्रमा उल्लेख छ । 

आजको राशिफल
मेषः
आज समय शुभ छ । सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्य फाइदा हुनेछ । सुखद् समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।
 
मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।

वृषः आज समय खराब रहनेछ । धार्मिक वा सांस्कृतिक महत्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भए पनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । 

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।

मिथुनः समय शुभ छ । प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
 
मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।

कर्कटः समय मध्यम खालको छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर  सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ । 

सिंहः आज समय शुभ छैन । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । मानसम्मानमा आघात पुग्न सक्छ । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन् । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला । सहयोगीहरू कमै भेटिनेछन् । 
सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।
कन्याः समय शुभ छ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् । कन्या राशिका लागि बुधबार शुभ र शनिबार घात हुने गर्दछ ।

तुलाः आज पनि समय शुभ छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लाग्ने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । यसअघिका कामबाट दाम, नाम, इनाम हातपार्ने बेला छ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । तुला राशिका लागि शुक्रबार शुभ र बिहीबार अशुभ हुनेछ ।

वृश्चिकः आज शुभ छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ ।
  
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै भगवान विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी महानुभावहरुले यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । वृश्चिक राशिका लागि मंगलबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

धनुः समय भरोषा गर्न योग्य छैन । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना टुसाउन सक्छन् । यद्यपि सामाजिक दायित्व बढ्नेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता समल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ । धनु राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

मकरः आज समय शुभ छैन । काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । परदेश वा दूरदराजका क्षेत्रबाट लाभ लिन सकिने छ । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सचेत हुनुपर्छ । अनावश्यक दौडधूपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । 

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । मकर राशिका लागि शनिबार शुभ र मंगलबार अशुभ हुनेछ । 

कुम्भः समय शुभ छ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जा“गर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आ“टेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ । समय विशेष शुभ रहेकाले धार्मिक कार्यमा लगानी गरेमा लाभ तथा पुण्य मिल्नेछ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । कुम्भ राशिका लागि शनिबार शुभ र बिहीबार अशुभ हुनेछ ।

मीनः आज समय उपयुक्त छैन । आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारी चलाउँदा सावधानी अपनाउनुहोला ।

 मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपीडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ । मीन राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

साइतः आज चन्द्रमा मेष राशिमा छन् त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः५८ बजेदेखि         ७ः२८ बजेसम्म        उद्धेग बेला
बिहान ७ः२८ बजेदेखि         ८ः५८ बजेसम्म        चर बेला
बिहान ८ः५८ बजेदेखि         १०ः२८ बजेसम्म        लाभ बेला
बिहान १०ः२८ बजेदेखि        ११ः५८ बजेसम्म        अमृत बेला
बिहान ११ः५८ बजेदेखि        १ः२८ बजेसम्म        काल बेला
दिनमा १ः२८ बजेदेखि         २ः५८ बजेसम्म        शुभ बेला
दिउँसो २ः५८ बजेदेखि          ४ः२८ बजेसम्म        रोग बेला
दिउँसो ४ः२८ बजेदेखि           ५ः५८ बजेसम्म        उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ