arrow

बिहीबार सोह्रश्राद्धको अष्टमी तिथि, पञ्चांगअनुसार यस्तो हुनेछ समग्रमा दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ भदौ २५ बिहिबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ भाद्र २५ गते बिहीबार, इस्वीसंवत सेप्टेम्बर १० तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धआश्विनकृष्ण (पितृ) पक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज शुद्धआश्विनकृष्ण (पितृ) को अष्टमी तिथि रहनेछ । आज रोहिणी नक्षत्र, विष्कुम्भादि योगमा वरियान, करणमा बालब, आनन्दादि योगमा उत्पात रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान ३१ घटि ३ पलाको रहनेछ । 

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४७ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर १२ मिनेटमा हुनेछ । आज सोह्रश्राद्धको अष्टमी तिथि हो । अष्टमी तिथि रातिमा १० बजेर ४८ मिनेटसम्म रहनेछ । 

आजको राशिफल
मेषः
विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला । निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला ।
मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । 

वृषः आज पदीय प्रमोशन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनु हुन्छ भने आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ । विशेष गरी पश्चिम दिशाको यात्राले फाइदा मिल्नेछ । समयको राम्रो उपयोग गर्न सक्नु भएमा प्रगति छिटो गर्न सकिनेछ । समय शुभ रहे तापनि घरमा चोरी हुनबाट जोगाउनु होला ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिर्नुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । 

मिथुनः आज समय ठीक छैन । जे काम गर्न खोज्यो बाधामात्रै पर्न सक्नेछ । काम गर्ने वातावरण पनि राम्रो नमिल्ने, जता गयो काममा ढिलासुस्ती तपाईंको मन पनि अस्थिर भइरहने छ । आँटेका, शुरु गरेका काम थोरै पूरा हुने, धेरै अधूरा रहने छन् । ठूलो लगानी नगर्नु नै वेश हुनेछ । आज जे काम गर्दा पनि विशेष सतर्क हुनुपर्ने देखिन्छ ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । 

कर्कटः आज पनि समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ ।
कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर  सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । 

सिंहः आज पनि समय शुभ छैन । सरकारी कार्यालयबाट लिने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज दक्षिण दिशाको यात्रामा गएर कुनै पनि काम बन्ने छैन ।
सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । 

कन्याः आज आफन्त पर्ने व्यक्ति नै बाधा पु-याउने देखिन्छ । मनमा ढुक्कपन नहुने, जे काम गर्न खोज्यो विना पैसा काम नबन्ने देखिन्छ । पेट वा शरीरको कुनै भागमा चोट लाग्ने बलियो सम्भावना छ । गाडी चलाउँदा विशेष ख्याल गर्नु होला । कडा परिश्रम नगरी नहुने भए पनि समयमा खाना खान नपाइने वा गड्बडीको सम्भावना बलियो छ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् ।

तुलाः आज पनि समय अत्यन्तै खराब छ । साना–साना कुरामा पनि शड्ढा र चिन्ता गर्ने देखिन्छ । जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ । आज दक्षिण दिशाको यात्रा गर्नु पनि ठीक छैन । 

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । 

वृश्चिकः आज पनि समय राम्रै छ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जा“गर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज मा“गे पाइन्छ । तपाईंले आ“टेका सबै काममा राम्रो सफलता पाइने ज्योतिष भविष्यवाणी दृष्टिकोणमा देखिन्छ । आज पूर्व दिशाको यात्रा गरेमा मात्र मनले ताकेका कामहरु सम्पन्न हुनेछन् ।
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै भगवान विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी महानुभावहरुले यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । 

धनुः आज स्वास्थ्य राम्रो रहनेछ । स्वास्थ्यबारे ढुक्क हुनुहोस् । ठूलो खराबी केही हुनेवाला छैन । तर खान पाइयो भनेर खीर धेरै नखानुहोला । गीत, संगीत, साहित्यलगायत सांस्कृतिक कार्यक्रममा जाने निम्ता पनि पाइनेछ । नयाँ पुराना धेरै मित्रहरु भेट्न पनि पाइने छ । निष्कर्षमा तपाईंलाई आज सबै प्रकारले राम्रो हुन सक्ने देखिन्छ । तर आज टाढाको यात्रा भने नगर्नुहोला ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता समल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ ।

मकरः स्वास्थ्य भरपर्दो नरहला । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला । आज घरमा कलह हुनसक्छ त्यसमा तपाइँ मौन बस्नु राम्रो हुनेछ । 
मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । 

कुम्भः आज पनि समय खराब रहनेछ । गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयाँ पेशाको थालनीको लागि पनि आज त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । कुनै पनि काम गर्दा सतर्क रहनु आवश्यक छ । आज दिनमा ४ बजे नयाँ कामको थालनी गर्दा राम्रो हुने देखिन्छ । सकभर यात्रा नगर्दा नै राम्रो हुनेछ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । 

मीनः आज पनि स्वास्थ्य मध्यम राम्रो रहनेछ । सन्तुलित भोजन र शारीरिक व्यायाम राम्रो भएमा स्वास्थ्य ठीकठाक रहनेछ । नौलो ठाउँ, नौला व्यक्तिसँगको भेटघाटले मनमा प्रशन्नताको अनुभव हुनेछ । आवश्यक पर्ने पैसाको जोहो, मेलोमेसो जुट्नेछ । आज टाढाको यात्रा पनि सजिलै हुने देखिन्छ । मीष्ठान्न भोजन समेत मिल्ने देखिन्छ ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ ।

साइतः आज चन्द्रमा वृष राशिमा छन् त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः४७ बजेदेखि         ७ः१७ बजेसम्म        शुभ बेला
बिहान ७ः१७ बजेदेखि         ८ः४७ बजेसम्म        रोग बेला
बिहान ८ः४७ बजेदेखि         १०ः१७ बजेसम्म        उद्धेग बेला
बिहान १०ः१७ बजेदेखि        ११ः४७ बजेसम्म        चर बेला
बिहान ११ः४७ बजेदेखि        १ः१७ बजेसम्म        लाभ बेला
दिनमा १ः१७ बजेदेखि         २ः४७ बजेसम्म        अमृत बेला
दिउँसो २ः४७ बजेदेखि          ४ः१७ बजेसम्म        काल बेला
दिउँसो ४ः१७ बजेदेखि          ५ः४७ बजेसम्म        शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ