arrow

तीन तीन महिनामा सचिव फेरे पछि प्रदेश २ सरकार केन्द्रसँग आजित

नयाँ आउने सचिवलाई हाजिर नगराउने चेतावनी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १४ आइतबार
pradesh2-mantri-letter-cent.jpg

काठमाडौ । तीन/तीन महिनमा सचिव फेर्न थाले पछि प्रदेश २ का मन्त्रीहरु संघीय सरकारसँग आजित भएका छन् । केन्द्र सरकारले चाँडो चाँडो सचिव परिवर्तन गरेको विषयमा संघीय सरकार र प्रदेश २ सरकारवीच टकराब सुरु भएको छ । 

संघीय मन्त्री हृदयेश त्रिपाठीले प्रदेश २ सरकारलाई असफल बनाउन चाँडो चाँडो प्रदेश मन्त्रालयका सचिव फेर्ने गरेको आरोप प्रदेश मन्त्रीहरुले लगाएका छन् । प्रदेश २ का ७ वटै मन्त्रालयमा संघीय सरकारले अहिलेसम्म कम्तीमा ६ पटक सचिव फेरेको छ । ‘तीन/तीन महिनामा सचिव फेर्दा काम गर्न अप्ठयारो भएको छ’ प्रदेश २का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनारले भने,‘मेरो कार्याकाल दुई वर्ष पनि पूरा भएको छैन तर मेरो मन्त्रालयमा ६ पटक सचिव फेरबदल भइसेको छ ।’

भूमि व्यवस्था,गरिवी तथा सहकारीमन्त्री शैलेन्द्र साहले भने अब आउने नयाँ सचिवलाई हाजिरी नगराउने चेतावनी दिएका छन् । ‘यो त अति नै भयो । त्यसैले अब आउने सचिवलाई हाजिरी नगराउने निर्णय गरेका छौ’साहले भने,‘केन्द्रले पठाउने सचिवको ठाउँमा हाल कार्यरत सहसचिवहरु मध्येबाट एक जनालाई निमित्त दिन्छौ ।’ प्रदेश सरकारलाई असफल देखाउन संघीय मन्त्रीले चाँडो चाँडो सचिव फेर्न गरेको साहले दावी गरे । 

साहले शनिबार संघीय मन्त्री त्रिपाठीलाइ चिठी लेखर आक्रोश पाखेका छन् । त्रिपाठीलाई लेखिएको चिठीमा प्रदेश मन्त्रालयसँग समन्वय नगरी संघीय सरकारले छिटो छिटो कर्मचारी सरुवा गर्दा अव्यवहारिक र हानिकारक हुने भनिएको छ । साहले तीन/तीन महिनामा सचिव फेर्ने प्रवृत्ती बन्द गर्न मन्त्रीलाई चेतावनी दिएका छन् । 

संघीय मन्त्री त्रिपाठी यसअघि तत्कालिन रााष्ट्रिय जनता पार्टीसँग आबद्ध थिए । प्रतिनिधि सभाको चुनाव हुनुभन्दा केही समय अघि मात्र उनले राजपा छाडेर तत्कालिन एमालेबाट चुनाव लडेका थिए । प्रदेश २ सरकारलाई राम्रोसँग काम गर्न नदिन त्रिपाठीले चाँडो चाँडो सचिव फेर्ने गरेको साहले आरोप लगाए ।  

प्रदेश मुख्यमन्त्रीको कार्यालय तथा प्रदेश मन्त्रालयमा केन्द्रले पठाउने सचिव संघको मातहतमा रहने कानुनी व्यवस्था छ । संघका सहसचिव प्रदेशमा पुगेपछि उनीहरुको पद सचिव हुन्छ । यसैगरी संघका उपसचिव प्रदेशमा पुगे पछि सहसचिव हुने कानुनी व्यवस्था छ । 

संघीय मन्त्रालयले प्रदेश मन्त्रालयसँग समन्वय नगरी सचिव पठाउने गरेको प्रदेश अधिकांश मन्त्रीहरुको गुनासो छ । केही दिन अघी मात्र संघीय सरकारले ठूलो संख्यामा सहसचिवहरु सरुवा गरेको छ । वरिष्ठहरुलाई काठमाडौं बाहिर पठाउने संघीय सरकारको नीति रहेको संघीय मन्त्रालयका उच्च कर्मचारीहरुको भनाइ छ । तर वरिष्ठहरुलाई काठमाडौ बाहिर पठाउने नाममा आफूलाई काम गर्न अप्ठयारो पार्ने गरी कर्मचारी पठाएको प्रदेश २का मन्त्रीहरुको भनाइ छ । 

यस्तै गुनासो स्थानीय तहका प्रमुखहरुको पनि छ । स्थानीय तहका प्रमुखहरुसँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत पठाउने गरेको उनीहरुको गुनासो छ । केन्द्रले समन्वय नगरेर पठाएकोमा कतिपय ठाउँमा स्थानीय तहका प्रमुख र संघले पठाएका कर्मचारीवीच द्धन्द्ध हुने गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ