arrow

पश्चिमी वायुको प्रभावले उपत्यकामा वर्षा

logo
रासस,
प्रकाशित २०७७ जेठ १७ शनिबार
rain2.jpg

काठमाडौं। पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरैजसो स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यी प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए। उनका अनुसार वर्षा हुने भनेर लगातार दिनभर नभई बिहान र बेलुकाको केही समय हुनेछ। दिउँसो भने मौसम सफा नै रहने बताइएको छ। हाल देशभर सामान्य बदली रही केही स्थानमा वर्षा भएको छ। कतिपय स्थानमा भने अपराह्नपछि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ।

आइतबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै दिपायलमा १.४, धनगढीमा ७.५, पोखरामा ३.६ र नेपालगञ्जमा ३.२ मिलिमिटर वर्षा भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ