राष्ट्रको अपमान पीडादायक मृत्यु– डा चन्द्र भण्डारी
प्रकाशित २०७७ जेठ १५ बिहिबार
718
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा चन्द्र भण्डारीले भारतीय संचारमाध्यमहरुले नेपाल र नेपालीको अपमान गरिरहेको बताएका छन् ।
भारत सरकारलाई नेपालको अतिक्रमित भूमि फिर्ता दिन गरेको आग्रहलाई भारत सरकारले वार्ता नै टार्दैै आएपछि नेपाल सरकारले जारी गरेको नेपालको अद्यावधिक नक्सा सार्वजनिक र संविधान संशोधनको प्रक्रियापछि आत्तिएको भारत र भारतीय मिडियाले नेपाल र नेपालीप्रति अपमान गर्न थालेपछि डा भण्डारीको यो प्रतिक्रिया आएको हो ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘भारतको सन्चार माध्यमले नेपाल र नेपालीको कोखबाट जन्मिएको वीर गोर्खालीको अपमान गरिरहेको छ ।’
उनले भारतले नेपाललाई हेप्नुको पछाडि हाम्रै देशका नेताहरुको कारण हुन सक्ने औंल्याउँदै लेखेका छन्, ‘नेपालका नेताहरुको विगतको नाडी छामेर होला । जो जसले मातृभूमिमाथि गद्दारी गरि आफ्नो श्रीपेच बचाउने खेलमा लागेका छन् उनीहरुले भीष्मपितामहले हस्तिनापुरको जमिन नपाएर बाणको शैयामा मृत्यु वरण गरे जस्तै नियति भोग्नुपर्ला भन्नेमा मलाई कुनै शंका छैन ।’
नेता भण्डारीले अगाडि लेखेका छन्, ‘विगतमा कसले के गर्यो र भन्यो भन्ने होइन वर्तमानमा नेपालको सम्मान र अधिकार प्राप्तिको लागि संविधान संशोधन अपरिहार्य हो । आफ्नी आमाको दशधारा दूध र आफ्नो माटो बिर्सेर बोतलको दूध चुसाउनेको आशिर्वादमा बाँच्ने भुल नगरौं । भविष्य अत्यन्त पीडादायक बन्ने छ ।’