कोरोना संक्रमित दुई जनालाई गाउँपालिकाकै आइसोलेसन सेन्टरमा
सौरभ गिरी,
प्रकाशित २०७७ जेठ १३ मंगलबार
552
Shares
फत्तेपुर । बाँकेको राप्तीसोनारी गाउँपालिकामा कोरोना संक्रमण फेला परेका दुई जनालाई आइसोलेसन सेन्टरमा लगिएको छ। आइतबार गाउँपालिकाको वडा नम्बर ७ मा नेरा मावी क्वारेन्टाइनमा रहेका दुईजना १६ र २३ बर्षीय पुरुषलाई कोरोना संक्रमण फेला परेको हो ।
उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब जाँच गरिएको थियो । कोरोना संक्रमित दुबै जनालाई वडा नम्बर ६ स्थित शहीद पार्कमा रहेको १० शैयाको आइसोलेसन सेन्टरमा एम्बुलेन्स मार्फत लगिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
कोरोना पोजेटिभ भए पनि स्वास्थ्य अवस्था सामान्य रहेकले दुबै जनालाई गाउँपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा राखिएको बस्नेतले बताए ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार वडा नम्बर ६ मा दश शैयाको आइसोलेसन सेन्टर बनिसकेको र अन्य वडामा सबै गरि ५० शैयाको आइसोलेसन सेन्टर निर्माण भइरहेको छ।
कोरोना संक्रमण पोजेटिभ भएर सामान्य अवस्था रहेकालाई गाउँपालिकाकै आइसोलेसन सेन्टरमा र अवस्था जटिल भएकालाई प्रदेश तथा संघले स्थापना गरेका कोरोना उपचार अस्पतालमा लगिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।
बाँके जिल्लाका सबै स्थानीय तहहरु मध्ये राप्तीसोनारी गाउँपालिकाले आफ्नै पालिकामै आइसोलेसन सेन्टर निर्माण गरेकोले एउटा उदाहरणीय कार्य गरेको छ।
‘यो महामारीको समयमा आफुले नि जति सक्यो गर्नुपर्छ, गर्न चाहे के हुँदैन र आइसोलेसन सेन्टर ठूलो कुरा होइन तर बनाउन हिम्मत गर्नुपर्यो, असम्भव केहि छैन’ बस्नेतले भने ।