बिरगञ्जका मेयर सरावगी वडाअध्यक्षलाई उपेक्षा गर्दै व्यक्ति र सत्ता केन्द्रीत राजनीतिमा
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ जेठ ११ आइतबार
297
Shares
वीरगंज। कोरोना विरुद्ध लड्न आफु असक्षम भएको भनि जनस्तरबाट चन्दा उठाउने रणनीतिमा जुटेका वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगी निर्वाचित जनप्रतिनिधीहरुलाई नै उपेक्षा गर्दै व्यक्ति केन्द्रीत राजनीतिमा लागेको पछिल्ला घटनाक्रमले देखाउन थालेको छ। महानगरपालिकामा आफूसँगै निर्वाचित जनप्रतिनिधीहरुलाई उपेक्षा गर्दै मेयर सरावगी व्यक्ति केन्द्रीत तथा सत्ता केन्द्रीत राजनीतिमा लागेका हुन्।
कोरोना विरुद्धको यो महामारीमा सबै मिलीजुली लड्नुपर्ने वर्तमान अवस्थामा मेयर सरावगीले नगरबासीहरुको सम्पति खर्चेर नेकपाका स्थानीय नेताहरुको राजनीति चम्काउन उद्यत देखिएका छन्। केन्द्रमा सत्तारुढ नेकपासँग सम्वन्ध चिसिए पनि समाजवादीबाट निर्वाचित सरावगी स्थानियस्तरमा भने नेकपासँग हिमचिम बढाउन व्यक्ति केन्द्रीत राजनीतिमा लागिपरेका छन्।
वीरगंज महानगरपालिका वडा नं. ३१ मा कांग्रेसबाट चुमन चौधरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । स्थानियस्तरमा स्वयं महागरपालिकाले काम गर्नुपर्दा पनि वडा कार्यालयमार्फत नै गर्नुपर्छ। तर मेयर सरावगीले चौधरीलाई उपेक्षा गर्दै शनिबार पर्सौनी टोलमा नगरप्रहरी चढ्ने गाडीमा राहत सामग्री लोड गरेर नगरप्रहरीका इन्चार्ज हरि प्रसाद भुषाललाई पठाएका थिए ।
सरावगीले भुसाल मार्फत पठाएको सामग्री नेकपाका प्रदेश नं. २ का सदस्य बालगोपाल थापा र पर्साका जिल्ला सदस्य शम्भु गुप्ताले वितरण गरेर सामाजिक सञ्जालमा तस्बिर राखेका थिए। यो घटनालाई सरावगीको एक तिर दुई निसानाको रुपमा हेरिएको छ। एकातिर कांग्रेसबाट निर्वाचित वडाअध्यक्षलाई उपेक्षा गरेका सरावगीले नेकपाका नेताहरुलाई खुसी पार्ने प्रयास गरेका छन्।
बिरगञ्ज महागरपालिकाका नगरप्रहरी इन्चार्ज हरिप्रसाद भुसालले आफुले अफिसले अर्हाएको काम पुरा गरेको बताए ।
वडाअध्यक्ष चुमन चौधरीले भने निर्वाचित जनप्रतिनिधिलाई जानकारी नै नदिइ मेयर सामग्री वितरण गर्न पठाएर आफू विरुद्ध मेयर सरावगीले निम्नस्तरको राजनीति शुरु गरेको आरोप लगाए। मंगलबार हुने बोर्ड बैठकमा मेयरको गलत कार्य विरुद्ध कडा प्रतिवाद गर्ने उनले चेतावनी दिए ।