कोरोना संक्रमितलाई क्वारेन्टाइनबाटै भगाइयो, भारततर्फ भाग्दै गर्दा प्रहरी नियन्त्रणमा
संक्रमितलाई अस्पताल लैजान नरैनापुरमा पटक पटक भइरहेछ अवरोध
सौरभ गिरी,
प्रकाशित २०७७ जेठ १० शनिबार
603
Shares
नेपालगञ्ज। बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनबाट भागेका कोरोना संक्रमित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोरोना संक्रमितलाई आइसोलेसनमा ल्याउन राती त्यसतर्फ गएको एम्बुलेन्सलाई स्थानीयले घेराउ गरेर संक्रमितलाई नेपालगञ्ज ल्याउन दिएका थिएनन् ।
विहान ३ बजे मात्र निकै लामो रस्साकस्सी बीच प्रहरीले १२ जनालाई एम्बुलेन्समा राखेर ल्याएको थियो । उनीहरुलाई लायन्स डेण्टल अस्पतालमा राखिएको छ ।
शुक्रवार संक्रमण पुष्टि भएका १३ जना मध्ये एक जनालाई प्रहरीले फेला पार्न सकेको थिएन। व्यापक खोजतलासपछि विहान मात्र भेटिएका उनलाई अहिले नेपालगञ्जतर्फ ल्याइँदै गरेको बाँकेका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले बताए ।
स्थानीयले एम्बुलेन्स घेराउ गरेर क्वारेन्टाइनबाटै संक्रमितलाई भगाएका थिए । ती मध्ये १२ जनालाई नियन्त्रणमा लिएर नेपालगञ्ज ल्याइए पनि एक जना भागेकालाई पक्राउ गर्न सकिएको थिएन ।
सीमाबाट भारततर्फ भाग्दै गरेका उनलाई विहान नियन्त्रणमा लिइएको सिंहले जानकारी दिए ।
विभिन्न अफबाह फैलाउँदै स्थानीय केही नेता एवम् अगुवाको उक्साहटमा स्थानीयलाई आन्दोलित बनाइएको थियो । त्यति बेला पनि संक्रमितलाई नेपालगञ्ज ल्याउन हम्मेहम्मे परेको थियो ।
नरैनापुरको वडा नम्बर ३ शंकरनगर कोटियास्थित नेरा प्रावि क्वारेन्टाइनका १२ जना र वडा नम्बर ४ नेरा प्रावि परशरामपुर्वा क्वारेन्टाइनका १ जनालाई हिजो संक्रमण पुष्टि भएको थियो ।
आइसोलेसनमा ल्याउनुपर्नेहरुलाई ल्याउन नदिन विभिन्न हर्कत देखाउँदै अवरोध पुर्याउने काममा संलग्नलाई तत्काल कारवाही गर्नुपर्ने माग चर्कोरुपमा उठेको छ ।