बाराका बिद्यार्थीहरुले भारत सरकार बिरुद्ध पोखे आक्रोश, कम थिएन ओली सरकार बिरुद्ध पनि
निकाले मसाल जुलुस
प्रकाशित २०७७ वैशाख २९ सोमबार
398
Shares
बारा। मिचिएको भूमि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघले निजगढमा सोमबार साँझ भारत विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । विद्यार्थीहरुले प्लेकार्ड र मसाल बोकेर विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाई उद्घाटन गरि सक्दा कानमा तेल हालेर बस्ने केपी ओली नेतृत्वको सरकार र सरकारी रवैयाप्रति विद्यार्थीहरुले आक्रोस प्रकट गरे।
विद्यार्थीहरुले आफूहरुको आन्दोलन सांकेतिक भएको जनाउदै नेपाल सरकारसंग भारतद्धारा मिचिएको नेपाली भूमि अविलम्व फिर्ता गर्न प्रभावकारी कुटनैतिक पहल थाल्न माग गरे। आफ्ना मागलाई सरकारले वेवास्ता गरी चुप बसिरहे आफ्नो संगठन भूमि फिर्ताकालागि जस्तो सुकै आन्दोलन गर्न पछि नपर्ने विद्यार्थीहरुको चेतावनी थियो।
विद्यार्थीहरुले निजगढ बजारस्थित बुद्ध चोकबाट मसाल सहितको र्याली निकाल्दै शहिद चोक हुदै पुनः बुद्ध चोकमा पुगेर कोण सभा आयोजना गरेका थिए ।
कोणसभामा बोल्दै नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस काठमाडौंका अध्यक्ष बिष्णु खड्काले देशको मिचिएको भुमि फिर्ता गर्न सरकार उदासिन भएको भन्दै सरकारको आलोचना गरे। खड्काले सरकारले भारतलाई कुटनीतिक दबाब दिन आनाकानी गरिरहेको भन्दै कुटनीतिक माध्यमबाट नेपाली भुमि फिर्ता गर्न सरकार लाग्नुपर्ने जोड दिए।
नेपाल बिद्यार्थी संघ बाराका उपाध्यक्ष मधु तिमल्सिनाले सरकार पार्टीको आन्तरिक द्वन्दमा रुमल्लिएर देशको भूमी अरुले कब्जा गर्दा पनि उचित बाटो लिन नसकेको बताए।
नेपाल बिद्यार्थी संघ गौरीशंकर क्याम्पस निजगढद्वारा आयोजित कार्यक्रममा बिद्यार्थी नेताहरु यदु गुरागाईं, प्रशान्त रौनियार, पुरण तिमल्सिना, स्वर्ण लामा, नेपाल तरुण दल निजगढका अध्यक्ष चित्र कुमार तिमल्सिना,आदिवासी जनजाति संघ निजगढका अध्यक्ष हिरा सारु मगर लगायत कांग्रेसका भातृ तथा शुभेच्छुक संघ संस्थाका नेता कार्यकर्ताको उपस्थिति थियो।