पोखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले आज आइतबारदेखि कास्कीमा लकडाउनलाई केही खुकुलो बनाएको छ । लकडाउन शुरु गरेको ४८ औं दिन पग्दा कास्कीमा लकडाउन खुकुलो बनाइएको हो । कास्कीमा हालसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।
कास्की प्रशासनले जिल्लामा सञ्चालन भएका विकास निर्माण, उद्योग तथा उत्पादनशिल क्षेत्रमा कार्यरत मानिसहरुलाई प्रशासनबाट सवारी पास समेत लिन नपर्ने जनाएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले शनिबार जारी गरेको जरुरी सूचना अनुसार संघीय सरकारले तोकेबमोजिम एक तिहाई कर्मचारी व्यवस्थापन गरी बैंक तथा वित्तीय संघसंस्था, बिमा, सहकारी, धितोपत्रमा सेवा संचालनका लागि पास आवश्यक नपर्ने उल्लेख छ ।
‘कुनै विकास निर्माण तथा उत्पादनमूलक सेवा संचालनमा आउजान गर्दा अधिकतम १० जनासम्म एक पटकमा यात्रा गर्न सकिन्छ’, सूचनामा भनिएको छ । वर्कशप, इन्टरनेट जडान, प्लम्बिङ, इलेक्ट्रिकल सेवा र पेट्रोल पम्प संचालनमा बढीमा ५ जना कामदार तथा कर्मचारी रहने व्यवस्था मिलाउन सरोकार निकायलाई प्रशासनले निर्देशन दिएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस सम्बन्धी सचेत र सजग हुँदै सामाजिक दुरी कायम गरेर विभिन्न सेवा संचालन गर्न केही सहज पार्ने निर्णय गरेको हो ।
शैक्षिक संघसंस्था, रंगशाला, जिम हल, फिल्म हल, धार्मिक तथा सार्वजनिक स्थल, होटल, रेष्टुरेण्ट, मानिसहरुको जमघट नहुन प्रशासनले आग्रह गरेको छ । प्रशासनले तोकिएको सीमा भन्दा बढी कसैले लकडाउन उल्लंघन गरे कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।
प्रशासनले लकडाउन खुकुलो बनाउने निर्णय गरेसंगै पोखराका सडकमा सवारी साधनको संख्या बढेको छ भने चहलपहल पनि शुरु भएको छ । कास्कीमा केही दिनदेखि नै लकडाउन खुकुलो भएको महसूस भएको थियो ।