कोरोनाविरुद्ध अग्रभागमा रहेर सेवा गर्नेप्रति सम्मान गर्दै हात्तीडाँडा समाजले मनायो बुद्ध जयन्ती
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
551
Shares
काठमाडौं । काठमाडौंको गोठाटारस्थित हात्तीडाँडा समाजले २५६४ औं बुद्ध जयन्ती मनाएको छ ।
कोरोना भाइरस विरुद्धको लडाईमा घर परिवार नभनी र रोगको प्रवाह नगरी अग्रभागमा सेवा गरी रहेका पेशाकर्मी र स्वंयसेवीहरूमा समर्पित गर्दै उनीहरुको सम्मान एवं प्रोत्साहन गर्दै बुद्ध जयन्ती मनाइएको हो ।
त्यसैगरी कोरोना रोगबाट संक्रमितहरूको स्वास्थ्यलाभको कामना गर्दै समाजले बेलुकी ७ बजे दीप प्रज्ज्वलन गरेको हो ।
सरकारले आग्रह गरेबमोजिम समाजका सदस्यहरूले सामाजिक दूरी कायम गरी समाजभित्र रहेको खुल्ला क्षेत्रमा नेपालको झण्डा अंकित नक्शा बनाई मैनवत्ती प्रवज्वलन गरी मनाए ।
दिप प्रज्ज्वलन कार्यक्रमको शुभारम्भ गर्दै समाजका अध्यक्ष गणेश थापाले भने भगवान् गौतम वुद्ध नेपाल र नेपालीको मात्र नभएर विश्व विचार र सत् चरित्रको मुहान भएकाले बुद्धको विचार, चरित्र र दिव्यउपदेश नेपालको सम्पतीका रूपमा भएकाले यसको संरक्षण र प्रवर्दनमा जोड दिनु पर्ने र बुद्धको बारेमा कुप्रचार गर्नेहरूसँग सजग हुनुपर्ने बताए ।
नेपालमा महामारीका रूपमा कोरोना बढी नफैलनुको एक मात्र कारण भनेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारको उच्च भुमिकाकै कारण भएकाले उनीहरूलाई साथ दिन सबै नागरिकलाई उनले आग्रह गरे ।
महासचिव अधिवक्ता राजु कटुवालको संचालन तथा ई ब्लकका संयोजक तथा सिभिल बैकका कम्पनी सचिव हिराकाजी बस्नेतको संयोजनमा भएको दिप प्रवज्वलन कार्यक्रम हात्तीडाँडा समाजकै अङ्ग साथी समूहको संयोजक तथा काठमाडौं जिल्ला कोरोना रोग विरूद्धको संयन्त्रको फोकल पर्सन जन स्वास्थ्य नर्स पार्वती विष्टको जिम्मेवारीको बारेमा कुरा गर्दै कोरोना रोग विरूद्ध उनले गरेको योगदानको चर्चा उच्च सम्मानका साथ प्रसंशा गरिएको थियो ।