arrow

चीनबाट ल्याइएका बस्तुमा कोरोनाको आशंकामा तातोपानीमा स्थानियको धर्ना र अवरोध

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
tatopani-border.jpg.jpeg

बाह्रबिसे। चीनबाट ल्याइएका सामानबाट कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै स्थानीयवासीले अवरोध गरेपछि तातोपानी भन्सारका गतिविधीमा अवरोध सिर्जना भएको छ।

भन्सारका अधिकारीहरुको व्यवहारबाट सशंकित भएका स्थानियहरुले अत्यावश्यक औषधी बाहेकका सामान आयातमा प्रतिवन्ध लगाउन पर्ने माग गरेका छन्। 

चीनबाट आउने सवारी साधन, सामान र उनीहरुसँगै आउने व्यक्तिहरुबाट कोरोना संक्रमण हुन सक्ने भन्दै स्थानियहरु सशंकित छन्। तर भन्सारका कर्मचारीहरुले औषधीजन्य सामग्री र अत्यावश्यक सामान ल्याउने नाममा अन्य उपभोग्य सामान पनि ल्याउन दिएर खतरा बढाएङ्को स्थानियको आरोप छ।   

भोटेकोशी गाउँपालिकाका केहि वडा अध्यक्ष र स्थानियहरुले अवरोध गरेपछि भन्सार कार्यालय उद्योग वाणिज्य सङ्घ, नेपाल सीमापार व्यापार सङ्घ, बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका प्रमुखलगायतसँग छलफल गरेर समस्याको निकास निकाल्ने प्रयासमा छ। 

कतिपय स्थानियहरुले भने चीनबाट स्याउ र लसुन ल्याउने नाममा प्रहरी र भन्सारका कर्मचारीको मिलेमतोमा सुन लगायतका बस्तुको तस्करी पनि भएको आशंका गरेका छन्। 

भन्सारमा आइपुगेका सामानबाट कोरोना सर्न सक्ने भन्दै ती गाडी कुनै हालतमा काठमाडौँ जान नदिने बताउँदै सुक्खा बन्दरगाहमा आइपुगेका स्याउ र लसुनका कन्टेनर मङ्गलबार काठमाडौँ पठाइएको थियो। 

आइतबार चीनबाट नेपाल ल्याइएका लसुन र स्याउका सात कन्टेनर काठमाडौँ पठाइएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । मङ्गलबार लसुनका तीन गाडी र स्याउका चार कन्टेनर काठमाडौँ पठाइएको हो ।

आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सल्लाह गर्छौ भनेपछि कन्टेनरहरु सहजरूपमा जान दिएको तर थप सामानका लागि छलफल गर्नुपर्ने अवस्था रहेको प्रमुख खत्रीले बताए । 

भुकम्पपछि लामो समयसम्म बन्द तातोपानी नाका कोरोना संक्रमणको महामारीकै बेलामा खुल्ला भए यता त्यस क्षेत्रका नागरिक भने त्रासमा रहेका छन्। चीनबाट आइरहेका दर्जनौ कन्टेनर र उनीहरुसँगै आएका व्यक्तिहरुबाट कतै आफ्नो क्षेत्रमा कोरोना संक्रमण फैलने त हैन भन्दै चिन्तित भएका हुन्। 

भोटेकोशी गाउँपालिकाका तातोपानीका वडाध्यक्ष दिपेन्द्र श्रेष्ठले सामान पैठारीको काम रोक्न ज्ञापन पत्र बुझाउँदा सुनुवाई नगरेपछि धर्ना दिएको बताए। भन्सारमा आइसकेपछि गरिनुपर्ने क्वारेन्टाइन लगायतको प्रक्रिया सन्तोषजनक नगरि सामान काठमाडौं लगायतका क्षेत्रमा पठाउने कामप्रति आफूहरुको असहमति रहेको बताए। आफ्नो असहमतिको ज्ञापन पत्र भन्सार प्रमुख लाल बहादुर खत्रीले नबुझेर प्रहरीको सई र कार्यालय सहयोगीलाई बुझ्न लगाएको समेत उनले बताए। 

अत्यावश्यक सामग्री हो भने स्थानियले लुट्न आउलान जसरी किन रातीराती स्कर्टीङ गरेर लैजानु पर्ने भनेर आफूले भन्दा पनि शंकास्पद गतिविधी गरिरहेकोमा स्थानियहरुको आपत्ती रहेको उनले बताए। 

उनले चीनबाट ल्याएका सामानको क्वारेन्टाइन गर्न माग गरे। तिव्वतबाट क्वारेन्टाइन भएर आएको प्रमाण चाहियो। वडालाई पनि अभिलेख राख्न क्वारेन्टाइन प्रमाणपत्रहरु देउ भन्दा सुनुवाई नगरेको उनले बताए। आफूहरुलाई क्वारेन्टाइनको प्रक्रियामा पनि शंका रहेको उनीहरुले बताए।  

कृषि तथा पशुपंछी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सहसचिव सहदेव प्रसाद हुमागाईले भने आफूहरुको कार्यालयले विधी अनुसार नै क्वारेन्टाइन गरिरहेको बताए। 

‘चीनबाट क्वारेन्टाइन भएर आए पनि कोरोनाको डरका कारणले सामान नल्याउन स्थानियको माग रहेको छ,’ हुमागाईले भने, ‘व्यवसायीहरुले भने सामान ल्याउन इजाजतपत्र माग गरेका छन्। दुवैतिरको दवाव भएपनि हामीहरुले क्वारेन्टाइन गरि निरिक्षण गरे मात्र छुट पूर्जी दिन्छौ। '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ