निर्माण सामग्री र मजदुर अभावका कारण विकास निर्माणको काम ठप्प
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ वैशाख २४ बुधबार
369
Shares
पाँचथर । सरकारले निर्माण क्षेत्रमा लकडाउन क्रमश खुकुलो पारेपनि निर्माण सामग्री, मजदुर अभाव र पेट्रोलियम पदार्थको सहज उपलब्धता नहुँदा पाँचथरका ठूला र राष्ट्रिय गौरवको आयोजनाको काम प्रभावित बनेको छ ।
अहिले जिल्लाका संघ, प्रदेश तथा स्थानिय स्तरमा संचालन भइरहेका महत्पूर्ण र ठूला आयोजनाको काम द्रुत गतिमा अघि बढ्न सकेको छैन । सिमेन्ट, रड, बालुवा, गिट्टी, मजदुर अभाव तथा पेट्रोलियम पदार्थको असहजतका कारण सोचे अनुरुपको द्रुत गतिमा काम अघि बढाउन नसकिएको एस.ए.कन्स्ट्रक्सन प्रा.लि.का प्रवन्ध निर्देशक शैलेन्द्र कुरुम्बाङले बताए ।
सामाग्री र मजदुर अभावकै कारण अहिले जिल्लामा राष्ट्रिय गौरव,महत्पूर्ण र ठूला आयोजनाको कामको रुपमा राँके,रवि,धनुकटा जोड्ने सडकको कालोपत्रे,तमोर करीडोर,फिदिम—यासोक,फिदिम—लुम्फाबुङ,फिदिम—नवमीडाँडा,फिदिम—फालोट सडकखण्ड लगायत दर्जन वढि सडक,भवन,पुल निर्माणको काम अहिले द्रुत गतिमा अघि वढ्न नसकेको पूर्वाधार विकाश कार्यालय पाँचथरले जनाएको छ ।
कार्यालयका ललित चौधरीले सोचे जस्तो र द्रुत गतिमा काम अघि वढाउन निर्माण ब्यवसायीले नसकेको बताए ।
कतिपय आयोजनाहरु चैत बैशाख सकिने भएपनि लकडाउनकै कारण काम अघि बढ्न नसकेपछि अव समय थप गर्ने तयारीमा जिल्लाका सरकारी कार्यालय रहेका छन् ।